पाकिस्तानमा झडप : १९ सैनिकको मृत्यु, ४५ विद्रोही मारिए

आइतबार, २९ भदौ २०८२

काठमाडौं : पाकिस्तानको अस्थिर उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपमा कम्तीमा १९ सैनिकको मृत्यु भएको छ । ४५ विद्रोही मारिएका छन् ।

पाकिस्तानी सेनाका अनुसार, सेप्टेम्बर १० देखि १३ सम्म खैबर पख्तुनख्वाका तीन फरक–फरक स्थानमा भएका झडपमा कम्तीमा ४५ ‘आतंककारी’ मारिएका हुन् ।

प्रधानमन्त्री शेहबाज सरिफले सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरसँग उक्त क्षेत्रको भ्रमण गरी आतंकवादविरोधी कारबाहीबारे उच्चस्तरीय बैठक गरेका थिए ।

खैबर पख्तुनख्वामा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)का ४५ आतंककारी मारिएका सेनाले जनाएको छ ।

सुरक्षा बलले बाजौर जिल्लामा गुप्तचर सूचनाका आधारमा अभियान चलाएकोे र भीषण गोलीबारीमा टीटीपीका २२ आतंककारी मारिएका थिए । दक्षिणी वजिरिस्तान जिल्लामा भएको अर्को झडपमा १३ टीटीपी आतंककारी मारिए । त्यहाँ १२ सैनिकको मृत्यु भएको थियो ।

तेस्रो घटनामा सुरक्षा बलले बिहीबार तल्लो दिरा जिल्लाको लालकिल्ला मैदानमा आतंककारीको उपस्थितिबारे गुप्तचर सूचना पाएपछि एक अभियान चलायो । सेनाले भीषण गोलीबारीमा त्यहाँ कम्तीमा सात सैनिक र १० आतंककारी मारिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार