काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी अघि बढाएकी छन्। जेनजी प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै आएकी कार्कीले शनिवार साँझ आफ्ना नजिकका सहयोगीहरूसँग विस्तृत छलफल गरेकी थिइन्।
मन्त्रिपरिषद्मा को–को पर्छन् भन्ने विषयले अहिले राजनीतिक वृत्त मात्र होइन, सर्वसाधारणको पनि उत्सुकता बढाएको छ। कानुनविद् ओमप्रकाश अर्याललाई मन्त्री बनाउने विषयमा करिब–करिब सहमति भइसकेको छ। त्यसबाहेक विभिन्न क्षेत्रमा स्थापित नामहरूबारे पनि तीव्र चर्चा चलिरहेको छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई, नेपाली सेनाका पूर्व रथी बालनन्द शर्मा, सामाजिक अभियन्ता आसिका तामाङ, जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ, धरानका मेयर हर्क साम्पाङ, वैज्ञानिक महावीर पुन, गायक राजेशपायल राई, पर्वतारोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पा, व्यापारी आसिमजंग बस्नेत, पूर्व कर्नेल माधवसुन्दर खड्का, पूर्व डिआइजी रमेश खरेल र विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसम्मका नामहरू बजारमा तातो विषय बनेका छन्।
कार्की नेतृत्वको यो अन्तरिम मन्त्रिपरिषद् राजनीतिक दलहरूको परम्परागत भागबन्डा भन्दा पर रहेर क्षेत्रीय प्रतिनिधित्व र पेसागत योग्यतालाई प्राथमिकता दिने सम्भावनाले जनताको अपेक्षा अझै बढाएको छ।
प्रतिक्रिया