काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक बताएका छन्। शनिबार सार्वजनिक गरेको वक्तव्यमार्फत उनले प्रतिनिधिसभा विघटन संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको खुला उल्लंघन भएको टिप्पणी गरेका हुन्।
उनका अनुसार प्रतिनिधिसभा जनताबाट लोकतान्त्रिक विधिबाट निर्वाचित सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले यसको विघटनले संविधानद्वारा प्रत्याभूत अधिकार र गणतान्त्रिक शासन व्यवस्थामाथि प्रत्यक्ष कुठराघात गरेको छ। उनले यस कदमले संविधानको मर्म र सर्वोच्च अदालतको अघिल्लो फैसलासमेत बेवास्ता गरेको आरोप लगाए।
उपसभापति खड्काले नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत प्रतिनिधिसभा विघटनको विरोधमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको स्मरण गराउँदै, लोकतन्त्र र संविधानको रक्षा गर्न पार्टी दृढ प्रतिबद्ध रहेको दोहोर्याए।
उनले मुलुकको विद्यमान राजनीतिक परिस्थितिमा कांग्रेस स्पष्ट भूमिकासहित अघि बढ्ने बताउँदै संविधान र गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।
प्रतिक्रिया