काठमाडौँ : देश चुनावी माहौलले तातेको छ । सहरदेखि गाउँसम्म चुनावी चर्चा चुलिएको छ । चुनावी चर्चाले देश गर्माइरहेका बेला पुसको कठ्याङ्ग्रिँदो चिसोले जनजीवन अस्तव्यस्त बनाएको छ ।
विशेषगरी तराई र भित्री मधेसमा फैलिएको शीतलहरले सामान्य जीवन मात्र होइन, यातायात, शिक्षा र स्वास्थ्यसमेत प्रभावित बनाएको छ । चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालय बन्द गरिएका छन् । बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन् । अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामीको चाप बढ्दो छ ।
शीतलहरकै कारण पूर्व–पश्चिम राजमार्गको संवेदनशील दाउन्ने खण्डमा तीन दिनसम्म यातायात सेवा प्रभावित भयो ।
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा शीतलहरले सडक चिप्लो र हिलाम्मे बनेपछि ठुला सवारीसाधन उकालो चढ्न नसकी अड्किए । त्यसले दुम्कीबास जङ्गल क्षेत्रसम्म करिब डेढ हजार सवारीसाधन जाममा फस्दा हजारौँ यात्रु चिसोमा अलपत्र परे । कतिपय यात्रुले १०–१२ घण्टा त कतिपयले पूरै दिन जाममै बिताउनुपर्यो ।
दाउन्ने त्यही क्षेत्र हो, जहाँ बर्खामा हिलो र पहिरोले सडक अवरुद्ध हुन्छ भने गर्मीमा धुलोका कारण सास फेर्नै गाह्रो पर्छ । निर्माणाधीन सडक वर्षौँदेखि अधुरो अवस्थामा रहँदा हरेक मौसम यात्रुले सास्ती भोग्दै आएका छन् ।
यस्तो अवस्थामा पनि सरकार र सरोकारवाला निकायको प्राथमिकता चुनावी तयारीमै सीमित देखिन्छ । चुनाव लोकतन्त्रको महत्त्वपूर्ण प्रक्रिया भए पनि नागरिकको दैनिकी सहज बनाउने आधारभूत जिम्मेवारी सङ्कटका बेला राज्यले झन् बिर्सन नहुने सरोकारवाला बताउँछन् ।
अहिले नेपालभरि पश्चिमी वायुको आंशिक प्रभाव परेकाले हुस्सु लागेको र चिसो बढेको हो । मौसमविद्हरूका अनुसार अझै केही दिन सबै प्रदेशमा, विशेषगरी तराई क्षेत्रका अधिकांश भू–भागमा शीतलहर चल्नेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि छ । काठमाडौँ उपत्यकामा पनि तापक्रम घट्दो क्रममा छ । महाशाखाका अनुसार बुधवार तापक्रम यस वर्षकै न्यूनतम बिन्दु ४.८ डिग्री सेल्सियसमा पुगेको थियो ।
शीतलहरका कारण दाउन्ने सडक चिप्लो हुँदा सहज रूपमा सवारीसाधन सञ्चालन हुन सकेको छैन । यातायात नचल्दा यात्रु मर्कामा परेका छन् । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको हो ।
शीतलहरका कारण सडक चिप्लो र हिलो हुँदा सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसकेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ । तर बुधवार दिउँसोदेखि सडकमा सवारी चल्न थालेका छन् ।
तीन दिनदेखि रोकिएका सवारीसाधन व्यवस्थापन गर्न कठिन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रेम पोखरेलले बताउनुभयो । तर रोकिएका सवारी बिस्तारै पास गराउने काम भइरहेको उहाँले बताउनुभयो ।
‘सोमबारदेखि अवरुद्ध सडक मङ्गलवार आंशिक र बुधबारदेखि पूर्ण रूपमा खुलेको छ,’ उहाँले भन्नुभयो, ‘मङ्गलवार बाटोमा गाडी बिग्रेकाले अवरुद्ध भएको थियो । बुधबारदेखि समस्या छैन । लामो समयदेखि रोकिएका सवारी पास गराउन समय लागेको हो । बिस्तारै सबै सहज हुन्छ ।’
दाउन्ने खण्डमा एकातिर सडक निर्माण तथा मर्मतको काम र अर्कोतिर शीतलहरले सडक हिलाम्मे बनेपछि सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखिएको हो । यसअघि सडक अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो ।
पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान आग्रह गरिएको थियो । त्यस्तै, कालीगण्डकी चोक (गैँडाकोट)–रामपुर–पिपलडाँडा मार्गसमेत वैकल्पिक रूपमा प्रयोग गर्न आग्रह गरिएको थियो । काठमाडौँबाट बर्दघाटतर्फ जाने तथा बुटवलबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई काठमाडौँ–मुग्लिन–पोखरा मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको थियो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्डमा सडक अवरोधका कारण हजारौँ यात्रु चिसो मौसममा घण्टौँ अलपत्र परेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । काठमाडौँ बानेश्वर निवासी डा. द्वारिकानाथ ढुङ्गेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराउँदै यात्रुले भोग्नुपरेको पीडा सार्वजनिक गर्नुभएको हो ।
डा. ढुङ्गेलका अनुसार दाउन्ने खण्डमा लामो समयदेखि जारी सडक मर्मत तथा निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा बेला–बेला पहिरो, सडक हिलाम्मे र सवारी दुर्घटनाका कारण यात्रुहरू सास्तीमा पर्दै आएका छन् । पछिल्लोपटक एक–दुई ठुला सवारीसाधन पल्टिँदा उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो, जसका कारण पूर्व र पश्चिम दुवैतर्फ करिब तीन–तीन किलोमिटर लामो सवारी जाम लागेको थियो ।
डा. ढुङ्गेल स्वयं परिवारसहित दाङको घोराहीबाट काठमाडौँ फर्कने क्रममा दाउन्ने पुगेपछि जाममा फस्न लागेको र मोटरसाइकल चालकहरूको सुझावपछि बुटवल–पाल्पा हुँदै वैकल्पिक मार्ग प्रयोग गरी आउनुभएको थियो । उहाँका अनुसार जामको कारणबारे न प्रहरीबाट न त अन्य सम्बन्धित निकायबाट कुनै स्पष्ट सूचना दिइएको थियो ।
‘बाटो अवरुद्ध भएको जानकारी समयमै दिएर यात्रुलाई वैकल्पिक मार्गतर्फ मोड्न सकिने अवस्था हुँदाहुँदै पनि प्रहरी, सडक विभाग वा आयोजनाबाट कुनै प्रभावकारी सूचना प्रवाह भएन,’ उहाँले भन्नुभएको छ । जाममा फसेका यात्रुमध्ये बिरामी, बालबालिका र वृद्धवृद्धाले भोग्नुपरेको पीडाप्रति पनि उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
डा. ढुङ्गेलले दाउन्ने मात्र होइन, मुग्लिन–धार्के खण्डको अवस्था पनि दयनीय रहेको उल्लेख गर्दै निर्माण व्यवस्थापनमा विज्ञहरूको सुझावअनुसार कामलाई तीव्रता दिन सरकार असफल भएको आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया