काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । उनीहरूको शपथ भने भोलि हुनेछ ।
गत सोमबार र मङ्गलवार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् । उनी पूर्व सचिव पनि हुन् ।
अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा बर्खास्तीमा परेका थिए ।
प्रतिक्रिया