जेनजी आन्दोलनपछि दलभित्र भू–कम्प : पुराना नेता हटाउने बहस चुलियो

मंगलबार, ३१ भदौ २०८२

काठमाडौँ : प्रमुख राजनीतिक दलमा नेतृत्व फेर्दै पार्टी पुनर्गठनको बहस सुरु भएको छ । प्रमुख दलका शीर्ष नेतृत्व अझै सार्वजनिक भएका छैनन् । जेनजी आन्दोलनपश्चात् भूमिगत भएका नेताहरू सार्वजनिक रूपमा देखिएका छैनन् । तर, नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठनको बहसकै बिचमा उही ‘बुढा’ नेता बोकेरै राजनीतिक दल र उनीहरूका गतिविधिलाई मुर्झाउन थालेका हुन् ।

पछिल्ला दिन भड्किएको हिंसा नियन्त्रणका लागि कोही नेता कार्यकर्तालाई सम्झाउन जुटिरहेका बेला कतिपयले भने हिंसा थप भड्काउने गरी अभिव्यक्तिसमेत दिन थालेका छन् ।

कोही सम्झाउने, कोही भड्काउने

युवा नेताहरूले पार्टी नेतृत्व फेर्दै पार्टी पुनर्गठनको बहस गर्दै गर्दा उही दलका दोस्रो तहका नेताहरू पार्टी नेतृत्वको बचाउ गर्दै पार्टीलाई सक्रिय बनाउनुपर्नेमा लागेका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा नेतृत्व फेर्दै पार्टी पुनर्गठनको बहस चलिरहेको छ । यी पार्टीको भौतिक सहभागितामा कुनै बैठक अझै बसेको छैन । तर, सामाजिक सञ्जालमा नेतृत्व फेर्ने र जोगाउने बहस भने जारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी अध्यक्ष छोड्नुपर्ने दबाब छ ।

चारै पार्टीका अध्यक्षहरू पूर्वप्रधानमन्त्रीसमेत हुन् । उमेर ७० कटिसकेका र पटक पटक प्रधानमन्त्री भएर मुलुकको कार्यकारी भूमिकामा पुगेका नेताहरूप्रति सर्वसाधारण नागरिकदेखि पार्टीभित्रै असन्तुष्टि छ ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, बिन्दा पाण्डे, पोलिटब्युरो सदस्यहरू गोकुल बाँस्कोटा, केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालगायत पार्टी पुनर्गठनको पक्षमा खुलेका छन् । प्रदेश र जिल्ला तहका नेताहरू पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् तर उनीहरूमध्ये धेरैजसो खुल्न सकेका छैनन् ।

एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्ने भन्दै त्यसका लागि सबै तयार हुनुपर्ने बताएका छन् ।

‘अरू क्षति रोक्न जे भो भो होइन, किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने ? छिटो तर सु विचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ, अप्रिय लाग्ला तर सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन र गणतन्त्रबिना समाज, समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ,’ बाँस्कोटाले सामाजिक सञ्जालमा समेत लेखेका छन् ।

तर, एमालेकै महासचिव शङ्कर पोखरेलले आइतबारको प्रदेश तथा जिल्ला इन्चार्जहरूको जुम मिटिङमा तत्काल पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गरेर सरसफाइ गर्नुका साथै पार्टी नेतृत्वको आलोचना नगर्न निर्देशन दिएका छन् ।

पोखरेलले अहिले परिस्थित जटिल भएकाले नेतृत्वको आलोचना र घटनाको परिस्थिति’bout तत्काल समीक्षा गरी नहाल्न निर्देशन दिएको एक नेताले जनाएका छन् । ‘अहिले नेतृत्वको आलोचना नगर्न निर्देश भएको छ, बाँकी कुरा उपयुक्त समयमा समीक्षा गर्ने कुरा महासचिवज्यूले गर्नुभयो,’ उनले भने ।

कहिले कांग्रेस र एमाले, कहिले कांग्रेस र माओवादी केन्द्र, कहिले एमाले र माओवादी केन्द्रका बिचमा गठबन्धन गर्दै सरकार गठन गर्ने र पालैपालो क्रमशः ओली, देउवा र प्रचण्ड नै घुमिफिरी प्रधानमन्त्री हुने तर जनताको चाहनाअनुसार काम नगरेपछि जनस्तरका साथै पार्टीभित्रै आक्रोश वितृष्णा बढ्दै गइरहेको थियो ।

काँग्रेसमा समेत नेतृत्व फेर्दै पार्टी पुनर्गठनको बहस चलिरहेको छ । हुन त १५औँ महाधिवेशनबाट देउवाले सभापति हुन पाउँदैनन् । दुई कार्यकाल पार्टी सभापति भइसकेका देउवाले तेस्रो कार्यकालका लागि सभापति हुन नपाउने पार्टी विधानमा उल्लेख गरिएको छ ।

काँग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठनमा गर्नुपर्ने आवाज उठाइरहेका छन् । काङ्ग्रेसभित्र अन्य युवा नेताहरूले समेत यसमा समर्थन जनाउँदै नेतृत्व फेर्नुपर्ने बहस गरिरहेका छन् ।

थापाले मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने जनाएका छन् ।

उनले सार्वजनिक गरेको एक भिडियो सन्देशमा भनेका छन्, ‘नागरिकको विश्वास किन टुट्यो ? यसको हामीले समीक्षा गर्नुपर्छ, खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो, उनीहरू किन हामीहरूसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो ।’

उनले गति र मतिअनुसार कांग्रेस पार्टी चल्न नसकेको स्वीकार गरेका छन् । काँग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिङ्गो देशसँग काँग्रेसले माफी माग्नुपर्छ, यो घाउलाई पुर्नुपर्छ ।’

काँग्रेसका अर्का महामन्त्री शर्माले पार्टी सभापति देउवासहित एमालेका ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरूलाई सक्रिय राजनीतिबाट संन्यास लिनसमेत सुझाव दिएका छन् ।

गत शनिवार भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले यो कुरा आफूले विगतदेखि नै भन्दै आएको जनाएका छन् । उनले आफूले पार्टी सभापति देउवालाई ‘अब तपाईँले त्याग गर्न बाँकी छ,’ भनेर पटक–पटक सम्झाएको पनि स्मरण गरेका छन् ।

‘मलाई हिजो मात्रै एक जना साथीले गुगलमा सर्च गर्नुभएछ, मलाई स्क्रिनसर्ट पठाउनुभएछ– देउवा, ओली र दाहाल तीनै जना नेताले सक्रिय राजनीति छोड्नुपर्छ र अभिभावक बन्नुपर्छ, मैले गाउँको त्यो कार्यक्रममा जाँदा बोलेको रहेछु– देउवा, ओली र दाहालले संन्यास लिनुस्,’ शर्माले भनेका छन् ।

यता, माओवादी केन्द्र, एकीकृत समाजवादीमा समेत नेतृत्व फेर्ने र जोगाउने बहस चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झालनाथ खनालसहितका नेताहरू पार्टीको सल्लाहकार भएर आवश्यक राय सल्लाह दिनुपर्ने र अब पार्टीको नेतृत्व युवा पुस्ताका नेताले गर्नुपर्ने भन्दै पार्टीभित्रै नेताहरूले दबाब दिन थालेका छन् ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार