उदयपुर : उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुमार अधिकारीले सेवाग्राहीमाथि हातपात गरेको रहस्य बाहिरिएको छ।
वडा अध्यक्ष अधिकारीले स्थानीय वडा नम्बर ६ का गोपाल राउतमाथि हातपात गरेका हुन्। भुतिया खानेपानीको सम्झौता गर्न गएका राउतमाथि वडा अध्यक्ष अधिकारीले हातपात गरेको स्थानीय जयप्रसाद काफ्लेले जानकारी दिए। राउत भुतिया खानेपानीको सचिव हुन्।
भदौ २४ गते पालिकाको वडा नम्बर ५ र ६ जोड्ने नेपालटारस्थित पौवाखोलामा लगाइएको होमपाइपको स्थलगत अवलोकन गर्न गएका वडा अध्यक्ष अधिकारी र राउतबीच सामान्य भनाभन भएको स्थानीयले बताएका छन्। त्यही भनाभनलाई लिएर गत भदौ ३१ सेवा लिन पालिका गएका राउतलाई वडा अध्यक्ष अधिकारीले कुटपिट गरेको स्थानीय ढकबहादुर राउतले बताए।
अध्यक्ष अधिकारीले सेवाग्राहीलाई पालिका परिसरमै हातपात गरेपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रहरी चौकी उदयपुरगढीका इन्चार्जसहित स्थानीयहरूले छलफल गरेर घटना मिलाउने प्रयास गरे। तर पीडित राउत आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न छलफल नगरी हिँडेपछि घटना बाहिर आएको हो।
वडा अध्यक्ष अधिकारीले भने, भदौ २४ गते आफु खोलामा ह्युमपाइप हेर्न गएको बेला गोपाल राउतले आफुलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको र भदौ ३१ गते राउत पालिका आएको बेला भने ‘आफुलाई सर भन्दै सम्बोधन गरेपछि अस्ति अपशब्द प्रयोग गर्ने आज सर भन्ने भनेर प्रश्न गर्दा एक्कासी उनी जंगिएपछि सामान्य धकेलाधकेल भएको’ बताए। अधिकारीले यो सामान्य कुरा भएको तर राउतले उल्टै आफुलाई फसाउने नियतले अतिरञ्जित गरेको दाबी गरे।
राउतले भने, ‘आफु सेवा लिन पालिका गएका बेला पालीकामै आएर वडा अध्यक्षले हातपात गरे,’ भन्दै कानुनी उपचारमा जाने बताएका छन्।
प्रतिक्रिया