काठमाडौँ : हालैको लुटपाट र आगजनीका घटनामा देशभरका प्रहरी इकाईहरूबाट ठूलो मात्रामा हतियार तथा गोली हराएका छन् ।
नेपाल प्रहरीले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार २ हजार ९ सय ६४ हतियार र १ लाख ६८ हजार ७ सय ९८ थान धातुको गोली हराएको छ । यससँगै ८ हजार ३ सय ५९ थान रबरका गोली पनि हराएको तथ्याङ्क सार्वजनिक भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका प्रहरी कार्यालयबाट मात्रै करिब १ हजार ५ सय हतियार लुटपाट र आगजनीमा परेका छन् ।
राइफल र पेस्तोल सबैभन्दा बढी
हराएका हतियारमध्ये राइफल मात्रै १ हजार १ सय ९० थान रहेका छन् । यसमा एसएलआर राइफल ३२३ थान, इन्सास राइफल ३२६ थान, ३ सय ३ राइफल २७५ थान, हर्नेट राइफल २१५ थान, मार्कफोर ६ थान र २२ म्याग्नम ४५ थान रहेका छन् ।
पेस्तोलको सङ्ख्यामा पनि ठूलो ह्रास भएको छ । कुल ६ सय ४७ पेस्तोल हराएकोमा टाइम ५४ पेस्तोल ३३४ थान, टाइप ७७ पेस्तोल २८ थान, नाइन एमएम पेस्तोल १ सय १३ थान र ३८ स्पेसल रिभल्भर १ सय ७३ थान छन् । यी पेस्तोलसँगै १३ हजार ७ सय ५ धातुका गोली पनि हराएका छन् ।
अन्य हतियार र गोली पनि हराए
सर्टगन ३ सय ४४ थान, विविध प्रकारका ३ सय २८, फोल्डिङ तथा ननफोल्डिङ सर्टगन १५ थान र १२ बोर सर्टगन पनि आगजनी र लुटपाटमा परेका छन् । यस्तै, सबमेसिन गन ३३ थान र ग्यास गन ६ सय ८८ थान समेत हराएको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीहरूले हतियार तथा गोलीको यो विवरणलाई अझै भेरिफिकेशन गर्ने काम भइरहेको जनाएका छन् । प्रारम्भिक तथ्यांकअनुसार हतियार तथा गोली हराएको मात्रा निकै ठूलो देखिएको छ, जसले आगामी सुरक्षागत चुनौती थपिएको छ।
प्रतिक्रिया