काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने तयारी थालेकी छन्।
विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रका प्रतिनिधिसँग छलफल गरिसकेकी कार्कीले जेन–जी समूहसँग सहमति नपुगेका कारण मन्त्रिपरिषद् विस्तार केही ढिलाइ भएको थियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, मन्त्रिपरिषद्मा जाने व्यक्तिहरूको नाममा सहमति नजिक पुगेको छ र अब आज वा भोलि सोमबारसम्म सरकारले मन्त्रिपरिषद् पूर्णता दिने देखिन्छ।
जेन–जीका प्रतिनिधिहरूले आफ्नो तर्फबाट प्रस्तावित नामहरू पठाइसकेको पनि जानकारी प्राप्त भएको छ।
स्रोतले बताएअनुसार अन्तिम निर्णय प्रधानमन्त्री कार्कीले नै गर्नेछन्। समावेशी र जेन–जीको प्रतिनिधिमूलक सरकार बनाउने प्रयासअनुसार ढिलाइ भए तापनि सोमबारसम्म नयाँ मन्त्रिपरिषद् पूरा हुने छ।
अघिल्लो शुक्रवार मात्र प्रधानमन्त्री नियुक्त भएकी कार्कीले गत सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया