काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि तीव्र आक्रोश प्रकट गर्दै घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।
जेन–जी आन्दोलनपछि पार्टी पुनर्संरचना गर्नुपर्ने भन्दै आएका थापा र शर्माको अभिव्यक्तिलाई लक्षित गर्दै महतले यस्तो प्रतिक्रिया दिएका हुन्। आन्दोलनमा जलाइएको आफ्नै घरको भग्नावशेषबीच सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले पार्टीलाई अहिले एकता चाहिएको बेला अनावश्यक विवाद खडा गरिएको आरोप लगाए।
‘अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो। तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ,’ महतले भने।
उनका अनुसार सभापति शेरबहादुर देउवा उपचाररत अवस्थामा हुँदा नेतृत्व परिवर्तनको बहस उठाउनु असमय र गैरजिम्मेवार कार्य हो। उनले थपे, ‘जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ, उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। ओलीजीको सोच र शैलीले ठीक बाटोमा अघि बढ्दैन भने हामीले पहिले नै भनेका थियौँ। तर अहिले नयाँ परिस्थिति बन्नासाथ नेतृत्व परिवर्तनको कुरा गर्नु अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा पर्खन नसक्ने जस्तै हो।’
महतले पार्टीभित्र नयाँ परिस्थिति र चुनौतीबारे गम्भीर छलफल हुनुपर्ने आवश्यकता औंल्याउँदै घटनाको सम्पूर्ण मूल्यांकन गरिने बताए।
प्रतिक्रिया