धनकुटा : नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले वर्तमान परिस्थितिमा पार्टीलाई नयाँ उर्जा र दिशा दिन विशेष महाधिवेशनको माग गरेको छ। पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन तथा युवापुस्ताको भावना अनुसार पुस्तान्तरण र रुपान्तरण गर्न आवश्यक रहेको भन्दै केन्द्रिय समितिलाई सुझाव पठाइएको धनकुटा कांग्रेसले जनाएको छ।
धनकुटा कांग्रेसका सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकमा जेन जी आन्दोलनपछिका परिस्थितिहरूमा पार्टीको नेतृत्वलाई थप सशक्त बनाउन विशेष महाधिवेशन आवश्यक भएको निर्णय गरिएको थियो। सभापति राईले अहिलेको नेतृत्वबाट पार्टीलाई अगाडि बढाउन समस्या हुने भएकाले नयाँ जोश र उर्जाका साथ पार्टीलाई अगाडि बढाउन महाधिवेशन अनिवार्य रहेको बताए।
जिल्ला सचिव विजय सन्तोषी राईले पार्टी, सरकार तथा समाजका हरेक तहमा पुस्तान्तरण र रुपान्तरण आवश्यक रहेको उल्लेख गर्दै, जो बदलिन्छन् उनी नेतृत्व दिन सक्षम हुने तर जो बदलिँदैनन् उनी पतनको सामना गर्ने बताएका छन्।
बैठकले पार्टी संगठन विस्तार, सुदृढीकरण र नविनतम ढंगले नेतृत्वलाई सक्षम बनाउने उद्देश्यले केन्द्रिय समितिलाई विशेष महाधिवेशनको लागि सुझाव पठाउने निर्णय गरेको छ। साथै, जेन जी आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गरी सम्मान गर्ने, घाइतेको निःशुल्क उपचार र राहत उपलब्ध गराउने र दीर्घकालीन रोजगारको व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा सभापति दिनेश राई, उपसभापति निर्मलप्रसाद ओझा, सुनिल कुमार डंगोल, सचिव विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सहसचिव रोशन श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर तामाङ लगायतका जिल्ला तथा पालिका स्तरका पार्टी नेताहरू उपस्थित थिए। बैठकले पार्टीका सबै तहमा एकता, धैर्य र उच्च मनोबल कायम राख्दै नेपाल निर्माणमा जुट्न सबैमा अपिल गरेको छ।
प्रतिक्रिया