सुनसरी : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई अब ढिला नगरी नयाँ नेतृत्वमा लैजानुपर्ने बताएका छन्।
बुधबार सुनसरीस्थित आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गर्दै उनले मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्न नसके पार्टीलाई विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ट पारे।
शर्माले भने, “पार्टीको १५औँ महाधिवेशन मङ्सिर मसान्तभित्र गर्न सकिन्छ र गर्नुपर्छ, यदि त्यो सम्भव भएन भने हाम्रो एक मात्र विकल्प विशेष महाधिवेशन नै हो।”
उनले काँग्रेसको विधानअनुसार केन्द्रीय समितिले चाहेमा महाधिवेशन बोलाउन सकिने प्रावधान रहेको स्मरण गराउँदै अर्का महामन्त्री गगन थापासहित आफू पनि त्यस प्रक्रियामा लागिपरेको जानकारी दिए।
महामन्त्री शर्माले पार्टी भित्रैबाट नेतृत्व परिवर्तनको दबाबलाई स्वाभाविक ठहर गर्दै भने, “केन्द्रीय समितिको निर्णय होस् या ४० प्रतिशत हस्ताक्षरमार्फत आएको दबाब, दुवैलाई नकारात्मक रूपमा लिन मिल्दैन। अब कांग्रेस नयाँ नेतृत्वमा पुग्नैपर्छ।”
जेनजी विद्रोहपछि अन्तरिम सरकार बनेर मध्यावधि निर्वाचनको मिति समेत तोकिएको अवस्थामा काङ्ग्रेसभित्रको यो नेतृत्व–परिवर्तन बहस अझ चर्किएको छ।
प्रतिक्रिया