काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई सरुवा गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रिजाललाई गृहमन्त्रालय तान्दै उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ईश्वर पौडेललाई काठमाडौँको सिडिओ खटाउने निर्णय गरेका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै सिडिओ रिजाल चर्को आलोचनामा परेका थिए।
उनीविरुद्ध छानबिन र कारबाहीको माग भइरहेका बेला गृहमन्त्रालयले उनलाई मन्त्रालयमै तानेको हो। तर, रिजाललाई मन्त्रालयमा कुन जिम्मेवारी दिने भन्नेबारे निर्णय भइसकेको छैन। आन्दोलनपछि आन्दोलनकारीको निसानामा परेका रिजाल काठमाडौँ प्रशासन फर्किनसमेत सकेका थिएनन्।
यसअघि मङ्गलवार गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेर रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको थियो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीलाई हेडक्वार्टर सरुवा गरेर रमेश थापालाई जिम्मेवारी दिइएको छ। त्यस्तै, एसपी अपिलराज बोहरा र कुलदीप चन्दलाई सरुवा गरी पवन भट्टराईलाई ल्याइएको छ।
काठमाडौँका ८ वृत्तका प्रहरी प्रमुखहरू समेत फेरिसकिएको छ । प्रहरीतर्फ पनि काठमाडौँको नेतृत्वमा ठुलो हेरफेर गरिएको छ।
प्रतिक्रिया