इटहरी । भदौ २४ गते, जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन । आन्दोलनको आवरणमा अराजक समूहले जताततै आगजनी, तोडफोड र लुटपाट गरिरहेको थियो ।
देशमा सरकारी, व्यापारिकदेखि निजी संरचनासम्म जलेर ध्वस्त भइरहेका थिए । नेताहरुका घरदेखि व्यक्तिका निजी संरचना एवं सम्पत्ति खोजी–खोजी जलाउने क्रम चल्दै थियो । त्यत्तिकैमा सुनसरीको इटहरी उपमहानगरपालिकामा आगो दन्किन थाल्यो । उपमहानगरमा आगजनी र तोडफोड गरेको अराजक समूह अन्यत्र पनि लम्किदै थियो ।
उपमहानगर छेउमै रहेको इटहरीको इलाका प्रहरी कार्यालय बाहिर प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भइरहेको थियो । उपमहानगरमा आगो झोसेर एउटा समूह दक्षिणतर्फ रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरतिर लम्कियो ।
आगजनी गर्ने योजना बनाएर दिउँसो २ बजेतिर भिड इटहरी उपमहानगरपालिका–६ स्थित मन्त्री भण्डारीको घरमा पुग्यो । मन्त्री भण्डारी घर बाहिर थिए । शिक्षिकासमेत रहेकी उनकी पत्नी हुमा भण्डारी पनि काम विशेषले बाहिर थिइन् ।
उपमहानगर र प्रहरी कार्यालयबाट दक्षिणतर्फ करिब २ मिनेटको पैदल दुरीमा मन्त्री भण्डारीको घर छ । ‘म बाहिर थिएँ । श्रीमती पनि काम विशेषले बाहिर गएकी रहिछन् । दिउँसो २ बजेतिर मेरो घरमा आगजनी र तोडफोड गर्ने योजना बनाएर एउटा समूह घरमा आइपुगेछ,’ भण्डारी भन्छन्, ‘त्यही भिडमा हुने केहीले चैं ‘यो घर भ्रष्टाचार गरेर बनाएको हैन, जलाउन हुँदैन’ भनेर भनेछन् । कोही चैं ‘जलाउनैपर्छ’ भनेर भन्ने पनि रहेछन् । घर आगो लगाउने भन्दै भिड आएपछि मलाई बारम्बार फोन आउन थाल्यो ।’
उनका अनुसार सुरुमा उत्तेजित भिडलाई भाडामा बस्ने महिलाले घरमा आगो नलगाउन आग्रह गरिछन् । ‘हामी भाडामा बस्ने मान्छे हौं । आगो लगाउँदा हाम्रो सबै कुरा जल्छ भनेर भाडामा बस्ने बहिनीले अनुनय विनय गरिसकेपछि भिड अलि शान्त भएछ । २ घण्टाभित्रमा कोठा सार्नु, अनि हामी आगो लगाउन आउँछौं भन्दै हिँडेको पाइयो,’ भण्डारी भन्छन् ।
सुरुमा घरमा भाडामा बस्ने महिलाले आगजनी गर्नबाट जोगाएको उनले बताए । घरको रुपरेखा र सजावट हेर्दा पनि सामान्य देखेपछि आगजनी गर्नेहरुको मन मरेको हुनसक्ने भण्डारीको भनाइ छ । ‘मेरो घरमा मार्बलहरु केही लगाएको छैन । एट्याच शौचालय र बाथरुम पनि छैन । म मन्त्री भएपछि पीएसओलाई सुत्नका लागि टिनको छानो लगाएर एउटा कोठा बनादिएको थिएँ । त्यो समूहले पीएसओ सुत्ने कोठामा पुगेर पंखा चैं तोडफोड गरिदिएछ,’ उनी भन्छन् ।
उनका अनुसार फेरि एउटा समूह घरमा आगजनी गर्नलाई दिउँसो ४ बजेतिर आइपुग्यो । त्यतिबेला भने छिमेकीहरु भण्डारीको घर बचाउन खडा भइसकेका थिए । छिमेकीहरुले यो घर ‘भ्रष्टाचार गरेर बनाएको हैन’, ‘आगो लगाउन हुँदैन’ भनेर बारम्बार आग्रह गरिसकेपछि आगजनी नगरिकन त्यो समूह फर्किएको भण्डारी बताउँछन् ।
फेरि साँझ ६ बजेतिर आगो लगाउन भनेर अर्को समूह पनि पुग्यो । आगो लगाउने भन्दै आक्रामक हुँदै पुगेको भिडका लागि पनि मन्त्री भण्डारीका छिमेकी बाधक बनिदिए । स्थानीयले प्रतिकार गर्ने बुझेपछि आगजनी गर्न आएकाहरु हच्किए । त्यत्तिकै फर्किएर गए ।
‘मेरो घरमा ३ पटकसम्म आगजनीको प्रयास भएछ । तर, छिमेकीहरु भेला भएर सामूहिक प्रतिवाद गर्दै आगजनी हुनबाट जोगाइदिनु भएछ,’ मन्त्री भण्डारी भन्छन्, ‘उहाँहरुले घर बचाएर ठूलो क्षति हुनबाट जोगाउनु मात्रै भएन । मलाई ठूलो गुन लगाउनु भएको छ ।’ छिमेकी खडा भएकै कारण अराजक समूहले घरमा आगजनी गर्न नसकेको उनको भनाइ छ ।
मन्त्री भण्डारीका छिमेकीसमेत रहेका सुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपालले त्यो दिन (भदौ २४) गतेको परिस्थिति निक्कै गाह्रो रहेको सुनाए । ‘मन्त्रीको घर आगजनी गर्न भनेर बारम्बार आए । तर, छरछिमेक सबै जनाले आगो नलगाउन अनुरोध गरेर घर बचाउन सफल भयौं,’ उनी भन्छन् ।
नेताहरुले भ्रष्टाचार गरेर सम्पत्ति जोेडेको भनिए पनि भण्डारीको हिसाबमा अहिलेसम्म त्यस्तो नदेखिएको नेपाल बताउँछन् । ‘भिडले कुरा सुन्न सक्ने अवस्था त थिएन । सामान्य तोडफोड गरे । ढुंगा हानेर घरका सिसाहरु फुटाइदिए । तर, आगो लगाउने योजना सफल हुन दिएनौं । सबै छरछिमेकको पहलमा घर बचायौं,’ उनी भन्छन् ।
नेकपा (एमाले)का नेतासमेत रहेका मन्त्री भण्डारीलाई पार्टीगत भन्दा पनि अन्य हिसाबले सद्भाव राख्नेहरु धेरै रहेको नेपालको भनाइ छ । ‘छिमेकीसँग साह्रै राम्रो व्यवहार गर्नु हुन्छ । त्यही भएर छिमेकीले पनि उहाँप्रति सद्भाव राख्छन् । आज घर बच्नुमा मन्त्री भण्डारीको सकारात्मक व्यवहारकै देन हो,’ उनले भने ।
उनका अनुसार भण्डारीको घरमा आगजनी गरिएको भए छेउछाउका पनि धेरै घरहरु जल्ने थिए । ‘हामीले त सबै मिलेर इटहरीमा मन्त्रीको घर बचायौं । यही हिसाबको पहलकदमी भएको भए धेरैतिरका घरहरु जोगिन्थे होलान् । भिड आक्रोसित हुन्छ । कुरा बुझ्दैन । तर, हामीले बुझाउन सकियो । अन्त पनि निजी र सरकारी सम्पत्तिहरु बचाउन सकेको भए राम्रो हुन्थ्यो,’ नेपालले भने ।
छिमेकी सबै जुटेर सम्झाइबुझाइ गरेपछि भिडले कुरा बुझ्दा प्रतिकार गर्नुपर्ने अवस्था नआएको उनको भनाइ छ । आक्रोशित भिडलाई सम्झाएर साम्य पार्न सक्नु र आगजनी गर्न नदिनु नै ठूलो कुरा भएको उनी बताउँछन् ।
‘इटहरीमा उपमहानगरपालिकाको कार्यालय जलिसकेको थियो । प्रहरीसँग दोहोरो झडप भइरहेको थियो । त्यहीबीचबाट एउटा समूह सिधै मन्त्रीको घरमा आइपुग्यो,’ प्राचार्य नेपालले भने, ‘तर, हामी छिमेकी सबै एकजुट भयौं । भिडले कुरा बुझ्नु र घर बचाउन हामी सफल हुनु संयोग पनि हुन सक्छ । छिमेकीले ठूलो सहयोग गरेका छन् ।’ नेपालले निजी वा सरकारी सम्पत्ति आगजनी र तोडफोड हुँदा राज्यले ठूलो घाटा बेहोरेको बताए ।
नागरिक समाज इटहरीको निवर्तमान अध्यक्ष तथा इटहरी लेडी जेसीसको पूर्वअध्यक्ष बालिका भट्टराई मन्त्री भण्डारीको घरमा आगजनी गर्न आक्रोशित भिड बारम्बार झम्टिएर आएको सम्झिन्छिन् । ‘जतिपटक आए पनि हामी सम्झाइबुझाइ गर्न सफल भयौं । भिडले आगो लगाउने अड्डी कसिरहेको थियो,’ उनले भनिन्, ‘तर, हामी सबै छिमेकी भेला भएर सफल हुन दिएनौं । मन्त्री भण्डारी धेरै सामाजिक मान्छे हुनुहुन्छ भनेर अनुनय विनय गर्दै उनीहरुलाई सम्झाउने प्रयोग गर्यौं ।’
छिमेकीको लगातारको आग्रहपछि आगजनी गर्ने बारम्बारको प्रयास सफल नभएको भट्टराईले बताइन् । घरमा आगो लगाइदिन्छन् कि भनेर राति १० बजेसम्म पहरा दिएर छिमेकीहरु बसेको उनको भनाइ छ ।
‘आक्रोशित हुँदै बारम्बार भिड आयो । ढुंगामुढा र सामान्य तोडफोड गरेर फर्कियो । तर, आगजनी गर्न पाएन,’ उनले भनिन्, ‘जसरी पनि आगो लगाएर छाड्छौं भन्नेहरु पछि हटे । मन्त्री भण्डारीको घर बच्नुमा छिमेकीको महत्वपूर्ण भूमिका छ । त्यो घरमा आगो झोसिएको भए वरपरका अन्य घरहरु पनि ध्वस्त हुने थिए ।’
भट्टराईका अनुसार घरनजिक बाटोमा एउटा सरकारी मोटरसाइकल पनि थियो । आगो लगाइदिन्छन् कि भनेर बोराहरु ल्याएर छोप्दै त्यो मोटरसाइकललाई सुरक्षित गरिएको उनले बताइन् । जेनजी आन्दोलनका नाममा लगाइएको आगोले देशभरका सरकारी एवं निजी संरचना ध्वस्त भइरहेका बेला छिमेकीको एकता र सामूहिक प्रतिरोधले मन्त्री भण्डारीको घर जोगिएको भट्टराईको भनाइ छ ।
प्रतिक्रिया