काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई पछाडि धकेल्दै आएका पुराना र भ्रष्टीकृत भइसकेका दललाई पुनः टाउको उठाउन नदिन आग्रह गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष पदबाट राजीनामा दिएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै भट्टराईले अब नयाँ र वैकल्पिक शक्तिले मुलुकको नेतृत्व लिनुपर्ने स्पष्ट पारे । उनले पुराना दलहरूले सुधार हुने सम्भावना नरहेको दाबी गर्दै पुराना पार्टीका भित्रका नेताले नै विद्रोह गरेर नयाँ विकल्पमा लाग्नुपर्ने बताए ।
‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु–परन्तु नभनीकन टाउको उठाउन दिनु हुँदैन,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’
उनले हालको जेनजी विद्रोहलाई नेपालको मौलिक र जायज आन्दोलनको रुपमा व्याख्या गरे । तर, आन्दोलनका क्रममा परिवर्तन नचाहने पक्ष र बाह्य शक्तिहरूले चलखेल गर्न खोजेको चेतावनी पनि दिए ।
भट्टराईले आफ्नो आगामी राजनीतिक यात्राबारे खुलस्त जानकारी नदिए पनि पुराना दलहरूमाथिको निर्भरता तोडेर वैकल्पिक शक्तिलाई संस्थागत गर्दै अघि बढ्ने संकेत गरेका छन् ।
प्रतिक्रिया