काठमाडौँ : अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा राख्न प्रतिबन्ध लगाएको छ। मन्त्रालयले बुधबार राति आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस्तो सूचना सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट आर्जित रकम अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइने व्यवस्था गरिएको छ।
यससँगै, ५ हजार अमेरिकी डलरभन्दा बढी रकम नेपाल भित्र्याउँदा भन्सारमा अनिवार्य घोषणा गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ। तर ५ हजार वा त्यस बराबरको विदेशी मुद्रा भने घोषणा नगरी ल्याउन मिल्ने व्यवस्था यथावत् छ।
अर्थ मन्त्रालयले स्पष्ट पारेको छ— स्रोत खुलेको रकम नगदमै सुरक्षित राख्न वा खर्च गर्न कुनै रोकटोक छैन, तर स्रोत नखुलेको रकम भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धानको दायरामा पर्न सक्छ।
प्रचलित कानुनअनुसार तोकिएको सीमा भन्दा बढी कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था पनि दोहोर्याइएको छ।
रामेश्वर खनाल अर्थमन्त्री बनेपछि सरकारले वित्तीय अनुशासन, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने नीति कडा पारेको छ।
यही सन्दर्भमा, असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा निवृत्त पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई कानुनमा तोकिएका र स्वीकृत मापदण्डअनुरूपका सुविधा मात्र उपलब्ध गराइने गरी पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया