काठमाडौँ - हामी नेपालका संयोजक सुदन गुरुङले भौतिक संरचनाभन्दा मानव जीवनको मूल्य ठूलो हुने बताउँदै आन्दोलनको प्राथमिकता जीवन गुमाउनेहरूलाई न्याय दिलाउनु हुनुपर्नेमा जोड दिएका छन्।
उनले नेताहरूले जनतालाई ‘फुटाऊ र राज गर’ को रणनीति अपनाएर आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाए।
बिहीबार माइतीघर मण्डलमा जेन-जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सिंहदरबार जलेको विषयलाई प्राथमिकता दिएर सहिदको बलिदानलाई ओझेलमा पार्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे।
‘मानिसहरू सिंहदरबार जल्यो भनेर चिन्ता गरिरहेका छन्, तर सिंहदरबार त हजार वटा बनाउन सकिन्छ,’ उनले भने, ‘तर एउटा आमाको कोख रित्याएर गएको छोरालाई कसले फर्काउन सक्छ ? करोड होइन, देशै बेचे पनि त्यो नागरिक जिउँदो फर्किँदैन।’
उनले आन्दोलनको मुख्य प्राथमिकता गोली हान्ने र आदेश दिनेहरूलाई कारबाहीको दायरामा ल्याउनु हुनुपर्ने बताए। ‘हाम्रो प्राथमिकता गोली हान्ने मान्छेबारे कुरा गर्नु हो, सिंहदरबार जल्नु दोस्रो कुरा हो,’ गुरुङले भने।
गुरुङले जेन-जी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेकै सरकार र कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी हुन र डराउन बाध्य पार्नु रहेको बताए।
‘नेपालको इतिहासमा यो पहिलो पटक हो, जब सरकार नेपाली जनतासँग डराएको छ। नेपाली जनताले तैँले के गरिस् ? भनेर मन्त्रीलाई प्रश्न गर्न पाएको छ,’ उनले भने, ‘यो नै हाम्रो आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि हो र यसलाई जोगाउन हामी एक हुनुपर्छ।’
उनले नेताहरूले जनतालाई एक-आपसमा लडाएर पुरानै दलहरू ठीक भन्ने भाष्य निर्माण गर्न खोजेको दाबी गर्दै यस्ता भ्रमबाट मुक्त हुन आग्रह गरे। ‘यो लडाइँ आर कि पारको हो, यो अन्तिम लडाइँ हो। जबसम्म देश बन्दैन, तबसम्म हामी लड्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया