उर्लाबारीमा डेरा बसेर ब्राउन सुगर कारोबार गर्ने झापाका बारही पक्राउ

शुक्रबार, ०७ कार्तिक २०८२

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले डेरामा बसेर ब्राउन सुगर (खैरो हेरोइन) कारोबार गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिहीबार राति भएको विशेष अपरेसनमार्फत प्रहरीले झापाका एक व्यक्तिलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा झापा जिल्लाको गौरादह नगरपालिका–६ बस्ने ४३ वर्षीय मोहनसिंह बारही रहेका छन् । 

उनी केही समयदेखि उर्लाबारी नगरपालिका–७ का स्थानीय गोरख खड्काको घरमा डेरा लिएर बस्दै आएका थिए । प्रहरीले उनलाई डेरा बसेकै कोठाबाट लागुऔषधसहित पक्राउ गरेको हो । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बारहीले उर्लाबारीमा डेरा लिएर लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले बिहीबार राति करिब ९ः३० बजे उनको डेरामा छापा मारेको थियो । छापा मार्ने क्रममा प्रहरीले उनको कोठाबाट १७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ । 

लागुऔषधसहित पक्राउ परेका बारहीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । 

बारहीले ब्राउन सुगर सानो परिमाणमा स्थानीय युवाहरूलाई बिक्री गर्ने गरेको प्रहरीको आशंका छ । स्थानीयले डेराबास र अस्थायी बासस्थानमार्फत लागुऔषध कारोबार गर्नेहरू बढ्दै गएको भन्दै प्रहरीलाई निगरानी कडा पार्न आग्रह गर्दै आएका छन् ।

पक्राउ परेका बारहीको नेटवर्क र सम्भावित आपूर्तिकर्ताबारे अनुसन्धान जारी छ । प्रहरीले उनको सम्पर्कमा रहेका व्यक्तिहरूको मोबाइल विवरण, कल डिटेल र आवतजावतको निगरानी गरेर थप कारबाही अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार