भाइटिका लगाउन हिँडेका दिदी–भाइ दुवैको मृत्यु : एकै यात्रामा बिनिताको पूरा संसार उजाडियो

शुक्रबार, ०७ कार्तिक २०८२

मोरङ : सधैँझैँ यो तिहार पनि विनीता तामाङले उत्साहपूर्वक तयारी गरेकी थिइन्। सुन्दरहरैचा–१२, देबिथान टोलकी विनीता हरेक वर्षजस्तै यस वर्ष पनि भाइटिकामा माइती जाने सोचमा थिइन्।

पाँच वर्षीया छोरी युडेन्लालाई समात्दै उनले भनिन्, “भाइलाई टिका लगाएर फर्किन्छु।” तर भाइसँगको त्यो टिका कहिल्यै लगाउन पाइनन् । त्यो यात्रा अब कहिल्यै फर्केर नआउने भयो।

बुधबार बिहान उनी विराटचोकबाट भारतको मिरिकका लागि हिँडेकी थिइन्। बाटोमा काँकडभिट्टा पुग्दा सासुआमालाई फोन गरेर भनिन्, “आमा, म यहाँ आइपुगेँ।” त्यो नै उनको अन्तिम फोन भयो।

भाइ वान्चेन तामाङ दिदीलाई लिन मिरिकबाट काँकडभिट्टासम्म आएका थिए। दिदी–भाइ दुवै एकै ट्याक्सीमा मिरिकतर्फ लागे। तर नियतिलाई के थाहा— त्यो ट्याक्सी गन्तव्यसम्म पुग्ने छैन।

भारतको नोलडाँडामा पुगेपछि सो ट्याक्सी दुर्घटनामा पर्‍यो। १२ जनाको क्षमताको सवारीमा १९ जना यात्रु चढेका थिए। भारतीय प्रहरीले प्रारम्भिक अनुसन्धानमा सोही कारण दुर्घटना भएको जनाएको छ।

घटनास्थलमै बिनिताको मृत्यु भयो भने भाइ वान्चेनको उपचारका क्रममा अस्पतालमा प्राण गयो। त्यो दुर्घटनाबाट बिनिताकी चार वर्षीया छोरी युडेन्ला गम्भीर घाइते भएकी छिन्।

विनीताका ससुरा पूर्ण तामाङले आँसु पुछ्दै भने, “बुहारी हरेक चाडमा माइत जान्थिन्। यसपालि पनि भाइटिका लगाउन गएकी थिइन्, यस्तो होला भनेर कसैले कल्पना गरेको थिएन। सधैँका लागि हामीलाई छाडेर गइन्।”

pradeskhabar.com - 2025-10-24T174625.527

उनका अनुसार विनीताका श्रीमान् सात महिनाअघि मात्रै रोजगारीका सिलसिलामा साउदी अरब गएका थिए। उनले थपे, “बुहारीले सबैलाई जोडेर राख्थिन्। मिलनसार र मृदुभाषी थिइन्।

गाउँको हरेक दुःखसुखमा अघि सर्ने मान्छे थिइन्।” दुर्घटनापछि साउदी अरबमा रहेका श्रीमानले विनीता दुर्घटनामा परेको खबर पाएका थिए। त्यसपछि उनले विराटचोकमा फोन गरी सो खबर परिवारलाई सुनाएका थिए।

दुर्घटनामा घाइते भएकी चार वर्षीया छोरीमार्फत भारतीय प्रहरीले साउदी अरबमा रहेका श्रीमानलाई सम्पर्क गरेको थियो।

सुन्दरहरैचाका देबिथान टोलका स्थानीय नारायण बस्नेत पनि स्तब्ध छन्। उनी भन्छन्, “विनीता जस्ती शीलस्वभावकी बुहारी सायदै भेटिन्छिन्। उनको निधनले गाउँभर शोक छाएको छ।”

एक सन्तानकी आमा बिनिताको मृत्युले मात्रै होइन, भाइ वान्चेनको मृत्युले पनि मिरिकस्थित परिवारको संसार एकैपटक उजाडिएको छ।

pradeskhabar.com - 2025-10-24T174705.252

सात छोरी पछिका एक मात्र भाइ थिए वान्चेन। दिदीप्रतिको माया र स्नेहका कारण उनले टिका लगाउनका लागि मिरिकबाट आफैँ दिदीलाई लिन आएका थिए। “भोलि दिदीको हातको टिका लगाउँछु,” भन्ने वान्चेन पनि आज छैनन्।

दुर्घटनामा मृत्यु भएका वान्चेनको युरोपको भिसा पनि लागिसकेको थियो। उनी छिट्टै विदेश जान तयारीमा थिए। तर त्यो सपना पनि अधुरै रह्यो।

सासुआमा रिता तामाङ भन्छिन्, “पहिलो गाडी ढिलो पुग्ने भनेर दोस्रो गाडीमा पठाएँ। बरु पहिलो गाडीमै पठाएको भए यस्तो हुने थिएन।” आँसु झार्दै उनले थपिन्, “बुहारी मात्र होइन, घरको आडभरोसा नै गुमायौँ।”

देबिथान टोलमा अहिले शोकको छायाँ छ। विनीता र वान्चेनको सम्झनामा टोलका मानिसहरू स्तब्ध छन्। भाइटिकाको दिन टिका लगाउने हात सुन्निए, बिनिताको मृदु हाँसो गुन्जिने घर आज मौन छ।

भाइटिकाको अघिल्लो दिन बिनिताको दुर्घटनामा मृत्यु भएपछि देबिथान टोलका छरछिमेकले समेत तिहार मनाएनन्।

एकै यात्रामा दिदी–भाइ दुवैको निधनले यो तिहार सुन्दरहरैचा मात्र होइन, मिरिकसम्मकै सबैका लागि पीडाको पर्व बनेको छ। दुर्घटनामा मृत्यु भएकी बिनिताको उर्लाबारीस्थित मङ्गलबारेमा पोस्टमार्टम पश्चात् आजै अन्त्येष्टि गरिएको छ।

 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार