जो जेनजी आन्दोलनबाट उठे

शनिबार, १५ कार्तिक २०८२

काठमाडौँ : भनिन्छ, हरेक आन्दोलनले नेता जन्माउँछ । २००७ सालको क्रान्ति होस् वा २०४६ सालको संयुक्त जनआन्दोलन ।

२०६२/६३ को जनआन्दोलन वा माओवादी सशस्त्र विद्रोह अथवा मधेश आन्दोलन सबैबाट नेता जन्मिएका छन् । तिनै आन्दोलनबाट उठेका थुप्रै नेताहरू नै दलको नेतृत्व र राज्यसत्तामा पुगेका छन् ।

परिवर्तनका हरेक आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै नयाँ विचार र एजेन्डा स्थापित भएका छन् । जुनसुकै आन्दोलनमा पनि अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्ने युवा नै नेताका रूपमा उदाएका छन् ।

पछिल्लो जेनजी विद्रोह (२३–२४ भदौ)ले पनि केही नयाँ अनुहारलाई राजनीतिमा प्रवेश गराएको छ ।

शीतल निवासदेखि बालुवाटारसम्मका छलफलमा आशालाग्दा अनुहार देखिन थालेका छन् । राजनीतिमा नयाँ धारको गृहकार्य हुन थालेको छ । अनि, निर्वाचन आयोगमा नयाँ दल दर्ताको लहर चलेको छ । यसले नेपाली राजनीतिमा विकल्पको खोजी भइरहेको सङ्केत मिल्छ ।

संयोग नै मान्नुपर्छ, नेपालमा हरेक दशकमा ठूला आन्दोलन वा उथलपुथल हुने गरेको छ । ती परिवर्तनबाट मुलुकले नयाँ नेता पाउँदै आएको पनि छ ।

युवाको आन्दोलन भ्रष्टाचार र नेपोबेबीविरुद्ध थियो । तर, ट्रिगर बनेको थियो, सामाजिक सञ्जाल बन्द गराउने तत्कालीन सरकारको निर्णय । रोचक त के भने युवाहरू सामाजिक सञ्जालबाटै सङ्गठित भएर आन्दोलनमा उत्रिएका थिए ।

प्रहरीले गोली चलाउँदा बानेश्वरस्थित संसद् भवन अगाडि १९ जना जेनजी आन्दोलनकारीको घटनास्थलमै मृत्यु भयो । देश शोकमा डुब्यो ।

नागरिकहरू सरकार र राजनीतिक दलप्रति थप आक्रोशित बने र २४ भदौको प्रतिरोधमा उत्रिए । त्यसको लाभ उठाउँदै पर्दाभित्रबाट थुप्रै समूह सक्रिय भए । जिम्मेवार जेनजी अगुवाहरूले रोक्दारोक्दै देशले विगतमा कहिल्यै नभोगेको ठूलो विध्वंस बेहोर्नुपर्‍यो ।

आन्दोलनमा केही राजनीतिक कार्यकर्ता र आन्दोलनलाई भड्काउने केही व्यक्तिसमेतको घुसपैठले शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको राजनीतिक दलका नेताहरूले दाबी गरिरहेका छन् भने त्यसलाई जेनजी आन्दोलनकै अगुवाहरूले समेत स्वीकार गरेका छन् ।

आन्दोलनका अगुवा खेमराज साउदले जेनजीको शान्तिपूर्ण र सभ्य आन्दोलनमा केही राजनीतिक कार्यकर्ताको प्रवेशले पनि हिंसात्मक र उत्तेजित बनाउन भूमिका खेलेको बताए ।

अन्य आपराधिक गतिविधि गर्नेहरूसमेत एकै मैदानमा उत्रिएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत सरकारी संरचना, प्रहरी चौकी, दलका कार्यालय र नेताका घरहरू आन्दोलनकारीको निशानामा परेर ध्वस्त भएका सबैतिरबाट दाबी गरिएको छ ।

आन्दोलनलाई व्यवस्थित बनाउन खटिएका सुरक्षाकर्मीका बुट, बर्दी र हतियार मात्रै खोसिएनन्, तीन जना प्रहरीसमेत मारिए । शीर्ष दलका शीर्ष नेताहरूको घर, केही व्यापारिक कम्प्लेक्समाथि आगजनी, लुटपाट भयो । नेताहरूका घरबाट पैसाका बिटा जलेर खरानी भए ।

जेनजीको आन्दोलनले यस्तो विध्वंसात्मक रूप लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनको क्याबिनेटका २२ मन्त्री, दलका नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा अवतरण गरायो ।

उनीहरू १० दिनसम्म सेनाकै कब्जामा लुक्नुपर्ने अवस्था आयो । सोही आन्दोलनका कारण देशभर ७६ जनाले ज्यान गुमाउनुपर्‍यो । यद्यपि आन्दोलनका क्रममा ४१ जनाको ज्यान गएको र अन्यका हकमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न हुँदा आफैँ जलेर मृत्यु भएको तथ्याङ्क सुरक्षा संयन्त्रले निकालेको छ ।

सोही आन्दोलन हिंसात्मक भएर भड्किएपछि ३० घण्टाभित्रै सत्ता उलटफेर हुन पुग्यो । सुरुमा नेतृत्वविहीन उक्त आन्दोलन उत्कर्षमा पुग्दा केही नेताहरू उदाएका छन् ।

जेनजीले यसरी सत्ता कब्जा गरेपछि नेपाली सेनाको समन्वयमा जेनजी अगुवासमेतको सहमतिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनको तीन दिनपछि नागरिक सरकार गठन गरे ।

प्रतिनिधि सभा विघटन गर्ने सर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा ६ महिनाभित्र चुनाव गराउने गरी अन्तरिम सरकार गठन भएर सो सरकारले काम गर्दै आएको छ । वर्तमान सरकारलाई जेनजी पुस्ताका नेताहरूको साथ, समर्थन र सहयोग छ ।

सरकारमा समेत जेनजीको प्रतिनिधित्व गराइएको छ । जेनजी आन्दोलनले केही परिवर्तनको प्रत्याभूति गरे पनि परिणामका हिसाबले कम प्रगति देखिन्छ ।

विश्लेषक शङ्कर दाहाल दलहरूको कार्यशैली, नेता तथा प्रशासनिक संयन्त्रबाट बढ्दो भ्रष्टाचार, कुशासन र नागरिकले निःशुल्क पाउने सेवा प्रवाहमा हुने घुसिया प्रवृत्तिप्रतिको आवेश र आक्रोशका रूपमा आएको आन्दोलन भएको बताउँछन् ।

एउटा उमेर समूहले गरेको आन्दोलन भएकाले संस्थागत बनाउन आफैँमा चुनौती रहेको उनको भनाइ छ । युवाहरूले थालेको आन्दोलनलाई आमरूपमा सहयोग भएर मात्रै सम्भव भएकाले नागरिकको अपेक्षाअनुसार दलहरू सच्चिएर नयाँ ढङ्गले मुलुकलाई लैजानुपर्ने दाहालको सुझाव छ ।

‘जेनजीले गरेको आन्दोलनलाई जेनजीले मात्रै संस्थागत गर्न सक्दैनन्’ उनले भने, ‘राजनीतिक दल सुध्रिएर आन्दोलनका उपलब्धि संस्थागत गर्न लाग्नुपर्छ । आन्दोलनमा अगुवाइ गरेका र पछिल्लो सरकार निर्माणदेखि अहिलेसम्म विभिन्न संवादमा जुटेका युवा पनि त्यहाँ समावेश हुनुपर्छ ।’

अधिकारकर्मी मोहना अन्सारी दलहरूले राजनीतिमा ल्याउन नसकेका युवाहरू आफैँ मैदानमा आएको रूपमा हेर्नुपर्ने बताउँछिन् । ‘यत्तिका वर्ष इग्नोर गरिएको उमेर समूह आफैँ आएका छन् । जो मलाई राजनीति मन पर्दैन भन्थ्यो ।

दल र नेता मन पराउँदैनथ्यो’ उनी भन्छिन्, ‘दलहरूले रिझाउन नसकेका युवालाई रिझाएर उनीहरू नेता बनेर आएका छन् । उनीहरूलाई संरक्षण र सुरक्षित गरेर देशलाई सही दिशामा लैजानुपर्छ ।’

जेनजी विद्रोहको सन्देश स्थापित दलहरूले पनि भित्रैदेखि मनन गर्नुपर्ने उनको भनाइ छ । ‘नयाँ पुस्तासँग सृजनशीलता छ, विषयको ज्ञान छ । अब अवसरको खाँचो छ’ अन्सारीले भनिन्, उनीहरू आफैँ सङ्गठित भएर पार्टी निर्माण गर्न पनि सक्छन्, नसके त्यो उमेर समूहलाई दलहरूले नेताका रूपमा अघि बढाउनुपर्छ ।

जेनजीका अगुवा बिस्तारै नेतृत्व विकासको तहमा देखिँदै आएका छन् । उनीहरू स्वतन्त्र व्यक्ति, स्वतन्त्र निर्वाचित जनप्रतिनिधि, जेनजी आन्दोलनका मृतक परिवार, घाइते, आन्दोलनको नेतृत्व गरेका युवा र वैकल्पिक शक्ति एक भएर जाने विषयमा छलफलरत छन् ।

सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा सबै एकजुट हुने तयारी भइरहेको जेनजी नेताहरूले दाबी गरेका छन् ।

युवाहरू विभिन्न समूहमा विभाजित देखिँदा आन्दोलनको मूल मर्मको विषय ओझेल परेजस्तो देखिए पनि केही समयमै आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने चरणमा अघि बढेको युवाहरूले बताएका छन् ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार