काठमाडौँ : नेपाली काँग्रेसमा महाधिवेशनको विषयलाई लिएर निर्णायक सकस उत्पन्न भएको छ । आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन पटक–पटक बसेको पार्टी पदाधिकारी बैठक निष्कर्षविहीन बन्दै स्थगित भइरहेको छ ।
शनिवार पनि पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा प्रतिनिधिसभा निर्वाचन अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा साझा धारणा बन्न नसकेपछि बैठक फेरि निष्कर्षविहीन रहँदै स्थगित गरिएको हो ।
केन्द्रीय समितिमा उठेको छलफललाई संश्लेषण गरेर पदाधिकारी बैठकले खाका प्रस्तुत गर्ने भनिए पनि सहमति नजुटेपछि बैठक आइतबार (आज)सम्मका लागि सारिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनका अनुसार मतभेद क्रमशः घट्दै गएको र सहमतिको नजिक पुगेको छ ।
नेपाली काङ्ग्रेसभित्र सामान्यतया तीनदेखि चार समूह देखिने भए पनि अन्ततः दुई धारामा विभाजन हुने प्रवृत्ति महाधिवेशनको सन्दर्भमा पनि देखिएको छ । महाधिवेशन आमनिर्वाचनअघि गर्ने कि पछि भन्नेमा संस्थापन र इतर समूह विभाजित छन् ।
संस्थापन पक्षले आमनिर्वाचनपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । आमनिर्वाचनअघि महाधिवेशन गर्दा पार्टी कमजोर बन्ने भन्दै कार्यवाहक नेतृत्वमै निर्वाचनमा जाने र त्यसपछि महाधिवेशन गर्ने सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको धारणा छ ।
यस मतलाई प्रतिनिधित्व गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनतर्फका वरिष्ठ नेतासँग परामर्श गरिरहेको बताइएको छ ।
जेनजी आन्दोलनपछि तत्कालै नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्दै आवाज उठाउँदै आएका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा पछिल्ला दिनमा थप दबाबमा छन् । पहिलो पुस्ताका नेताहरूले महाधिवेशन सार्ने प्रवृत्तिले पार्टीको राजनीतिक विश्वास र प्रभाव घट्दै गएको निष्कर्ष निकाल्दै थापा पुस्ताका नेताहरू नेतृत्वसँग रस्साकस्सीमा छन् ।
थापा र शर्माले नियमित वा विशेष महाधिवेशन जेजस्तो भए पनि निर्वाचनअघि नै गर्नुपर्ने अडान लिँदै आएका छन् भने संस्थापन पक्षीय नेताहरूले फागुनमा निर्वाचन सम्पन्न गरी वैशाखमा महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् ।
महामन्त्री शर्माले महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादका बिच पनि पार्टीले साझा धारणा बनाउने बताए । पदाधिकारी बैठकबाट निष्कर्ष ननिस्के महासमिति सदस्यहरूको सुझावलाई आधार बनाइन सक्ने उनको भनाइ छ ।
शर्माले आगामी १६ देखि १९ पुसलाई बीपी कोइरालाको मेलमिलाप नीति प्रस्ताव दिवस पारेर महाधिवेशन गर्ने प्रस्ताव राख्दै भने, ‘जेनजी आन्दोलनपछि हामीमाथि भरोसा राख्ने पुस्तालाई सम्बोधन हुनेगरी, डिजिटल भोटिङ प्रणालीमार्फत विश्वभर रहेका महासमिति सदस्यहरूको राय लिएर भए पनि गरौँ ।’
जेनजी आन्दोलनको सन्दर्भमा थापा–शर्माले नेतृत्वविरुद्ध उग्र प्रस्तुतिका कारण संस्थापन पक्ष असन्तुष्ट बनेको छ । संस्थापन पक्षीय नेताहरूले उनीहरूलाई आन्दोलनलाई उक्साएको आलोचना गरेका छन् ।
उता, थापा–शर्मा पक्षले भने तत्काल महाधिवेशनबाट जेनजी आन्दोलनको प्रभावले नेतृत्वमा परिवर्तन आउने भयले संस्थापन भागिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया