काठमाडौं : समूहगत राजनीतिलाई आफ्नो पहिचान बनाउँदै आएको नेपाली कांग्रेस आवधिक महाधिवेशनको मुद्दालाई लिएर कांग्रेस थला परेको छ।
जेन–जी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमसँगै पार्टीको १५औँ महाधिवेशन आमनिर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा चर्को मतभेद देखिएको छ। यसमा चरम गुटबन्दी मिसिँदा केन्द्रीय बैठक लम्बिइरहेको छ।
काङ्ग्रेसभित्रको गुटगत विवादले राष्ट्रिय राजनीतिमा समेत अन्योल सिर्जना भएको छ। बदलिएको परिस्थितिमा आफ्नो धार प्रस्ट पार्न गत असोज २८ गते केन्द्रीय कमिटी बैठक सुरु भएको थियो।
सभापति शेरबहादुर देउवाले स्वास्थ्यका कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपछि पार्टी सङ्कटको सहज अवतरण गर्ने दायित्व खड्काको काँधमा आएको थियो। तर, खड्काले कार्यवाहक सम्हालेसँगै पार्टीभित्र गुटबन्दी झन् तीव्र भएको आरोप युवा नेताहरूको छ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले कांग्रेस राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्नेमा आन्तरिक लडाइँमा अल्झिएको टिप्पणी गरे।
“जेन–जी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा देखिएको असहजतालाई हल गर्दै सबैलाई एक ठाउँमा ल्याउने नेतृत्वको भूमिका आवश्यक थियो,” उनले भने, “तर कार्यवाहक सभापतिले पार्टीको बैठक रोकेर गुटको बैठक चलाइरहनुभएको छ। यसले राम्रो परिणाम दिँदैन।” उनले सबैको भावना प्रतिनिधित्व हुनेगरी नेतृत्व अघि नबढेको दाबी गरे।
काँग्रेसमा समयमै १५औँ महाधिवेशन गर्ने कि विशेष महाधिवेशन वा आमनिर्वाचनपछि नियमित महाधिवेशन भन्ने विषयमा शीर्ष नेतादेखि तल्लो तहसम्म विभाजन बढेको छ। असोज २८ बाट सुरु भएको बैठक अझै नियमित बस्न सकेको छैन, बरु गुटगत बैठक धेरै पटक बसिसकेको छ।
कार्यवाहक सभापति खड्काले केन्द्रीय कमिटी बैठक नै स्थगन गरेर दुई दिन धोबीघाटमा संस्थापन पक्षसँग बैठक गरे भने सोहीबेला संस्थापन–इतर नेता डा. शेखर कोइरालाले बालुवाटारमा छलफल गरे।
सो छलफलमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। उनीहरूले विशेष महाधिवेशनको माग गर्दै प्रतिनिधिहरूको हस्ताक्षरसमेत बुझाइसकेका छन्।
संस्थापनइतर नेता कोइराला र समर्थकले समयमै नियमित महाधिवेशनको पक्ष लिइरहेका छन्। तर संस्थापन पक्ष आगामी वैशाखअघि महाधिवेशन सम्भव छैन भन्दै पहिलो प्राथमिकता आमनिर्वाचनका कार्यसूचीमा दिनुपर्ने अडानमा छ।
पूर्व उपसभापति विमलेन्द्र निधीले आमनिर्वाचनअघि महाधिवेशन गर्न नसकिने बताए। “नियमित महाधिवेशनको विषयमा सबै सहमत छौँ तर फागुनमा हुने निर्वाचनका कारण अहिले महाधिवेशन गर्न सकिन्न,” उनले भने।
उनले पहिले आमनिर्वाचनबारे निर्णय गरी, महाधिवेशनको विषयमा थप छलफल गरेर सहमति जुटाउनुपर्ने बताउँदै महामन्त्रीहरूले असहमति जनाएपछि बैठक मङ्गलवारका लागि सारिएको जानकारी दिए।
धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनको विवाद छाडेर निर्वाचन तयारीमा जाने प्रस्ताव राखे, तर महामन्त्रीहरूले अस्वीकार गरे। उनीहरू महाधिवेशन र आमनिर्वाचन दुवै विषयमा एकैपटक निर्णय गर्नुपर्ने अडानमा छन्।
विशेष महाधिवेशन पक्षधरले मङ्गलवार काठमाडौँमा महाधिवेशन प्रतिनिधिको भेला बोलाएका छन्, जसलाई निकै महत्वका साथ हेरिएको छ।
जेन–जी आन्दोलन भएको डेढ महिना बितिसक्दा पनि देशकै ठूलो र पुरानो दल काँग्रेसको उपस्थिति कमजोर भएको टिप्पणी हुन थालेको छ। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार कांग्रेस राष्ट्रिय सङ्कट व्यवस्थापनभन्दा आन्तरिक सत्ता सङ्घर्षमा अलमलिएको छ। “गुटगत प्रवृत्ति कम गर्नुपर्नेमा झन् बढेको छ,” उनले भने।
युवाहरूले समयमै महाधिवेशन र ४० प्रतिशत युवा कोटा सुनिश्चित गर्न माग गर्दै पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, शशाङ्क कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत नेतृत्व कब्जा कायम राख्न खोजेकाले कांग्रेस अनिर्णयको बन्दी बनेको विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्। उनका अनुसार यिनकै दबाबले कार्यवाहक सभापति स्वतन्त्र रूपमा अघि बढ्न नसकेका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मङ्सिर मसान्तमा नसके पुस १६ गतेसम्म महाधिवेशन उद्घाटन गर्नुपर्ने माग राखेका छन्।
शेखर कोइराला विशेष महाधिवेशन पक्षमा नभए पनि नियमित महाधिवेशनको मागमा महामन्त्रीहरूसँग छन्। तर संस्थापन पक्ष वैशाखअघि महाधिवेशन नगर्ने अडानमा रहेकाले विवाद बढ्दो छ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले महाधिवेशन र निर्वाचन एकैचोटि गर्दा प्रतिकूल हुने भएकाले वैशाखमा महाधिवेशन गर्ने सहमति हुनुपर्ने बताए। केन्द्रीय सदस्य नैनसिंह महरले कार्यतालिका समयमै नल्याई केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन्।
प्रतिक्रिया