विराटनगर । काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएकी मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
लुकिछिपी बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगरलाई विराटनगर महानगरपालिका–११ स्थित बसपार्क नजिकबाट बुधबार राति करिब ८ बजे नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार मगर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाकी प्रतिवादी हुन् ।
सोही मुद्दामा काठमाडौंको केन्द्रीय कारागारमा थुनामा थिइन् । तर, जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
कारागारबाट फरार भएपछि मगरले काठमाडौं छाडेर पूर्वतर्फ आएको र विराटनगरमा लुकेर बसेको प्रहरीले जनाएको छ । लामो समयदेखि खोजीमा रहेकी मगर विराटनगर बसपार्क आसपासमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः काठमाडौं पठाउने तयारी भइरहेको छ । उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायको जिम्मा लगाइने मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया