विराटनगर : पछिल्लो समयमा मानव उपचारका लागि आवश्यक पर्ने रगतको कोशी प्रदेशमा अभाव देखिन थालेको छ । कोशी प्रदेशका अस्पतालहरूमा पछिल्लो समय रगतको चरम अभाव देखिएको हो ।
शल्यक्रिया गराउनुपर्ने बिरामी, दुर्घटनाका घाइते, सुत्केरी, दीर्घरोगी र अन्य रगत चढाउनु पर्ने बिरामीहरुलाई आवश्यक रगत नपाउदा जोखिम बढी हुने गर्दछन । विरामीहरुलाई आवश्यक पर्ने रगत उपलव्ध गराउनु पर्ने रक्तसंचार केन्द्रहरुबाट भने रगत अभाव भएको जवाफ आउने गरेको छ ।
मानव उपचारका लागि आवश्यक पर्ने रगत उपलब्ध गराउने मुख्य जिम्मेवारी रहेको ‘ब्लड बैंक’ले बिरामीलाई रगत उपलब्ध गराउन कुनै सहजीकरण गर्ने काम नगरेर ‘रगत छैन’ भन्ने सामान्य जवाफ मात्र दिने गरेको विरामीका आफन्तहरु गुनासो गर्दछन् । ब्लड बैंकबाट रगत नपाएपछि बिरामीका आफन्त र परिवारका सदस्यहरू अन्तिम विकल्पका रूपमा सुरक्षाकर्मीसंग सहयोगका लागि आग्रह गर्न पुग्दछन ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत एक युवतीलाई चिकित्सकले जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने बताए । शल्यक्रियाअघि ‘ए–बी पोजिटिभ’ समूहको रगत अनिवार्य रहेको समेत चिकित्सकले वताएका थिए । उनलाई आवश्यक पर्ने रगत खोजीमा उनका आफन्तहरु विराटनगर तथा आसपासका क्षेत्रका ब्लड बैंकहरुमा पुग्दा रगत नभएको जवाफ पाएर फर्किन वाध्य भए । रगत अभावकै कारण शल्यक्रिया रोकिने खतरा बढेपछि युवतीका आफन्त मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको सम्पर्कमा पुगे ।
मानवीय संवेदनशीलता देखाउँदै एसपी कटवाल आफैं ‘ए–बी पोजिटिभ’ समूहको रगत भएका सुरक्षाकर्मीको खोजीमा जुटे । कोशी अस्पताल विराटनगरमा कार्यरत हवल्दार लीलाराज सुवेदीको रगत समूह मिल्यो । सुवेदी तत्काल नोबेल शिक्षण अस्पताल पुगेर रगत दिए । त्यसपछि मात्र बिहीबार युवती शल्यक्रिया भए ।
कोशी प्रदेशका अस्पतालहरुमा अहिले मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव हुँदा विरामी तथा विरामीका आफन्तहरुले यस्तै सास्तीसंगै उपाय खोजी गर्नु परिरहेको छ ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादव रगत अभाव हुनुको मुख्य कारण आपूर्ति नहुनु भएको बताउँछन् । उनका अनुसार अहिले सबै समूहको रगत सकिएको छ । ‘नेगेटिभ समूहको रगत त झन् दुर्लभ छ । जुटाउन लगभग असम्भवजस्तै हुन्छ,’ यादव भन्छन् । चिसो मौसम सुरु भएपछि रक्तदान कार्यक्रम नभएकाले संकट थप गहिरिएको उनको भनाइ छ ।
कोशी प्रदेशकै स्वास्थ्य संस्थाहरु मध्येमा दैनिक धेरै विरामी उपचारका लागि आउने विराटनगरका अस्पतालहरुमा रगत अभाव रहेका कारण विरामी र आफन्तले सास्ती बेर्हाेनु परिरहेको छ । विराटनगरमा छिमेकी प्रदेश र छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि विरामीहरु आउने गरेका छन।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका अनुसार विराटनगरमा मात्रै दैनिक १ सय ५० पिन्टभन्दा बढी रगतको माग हुने गरेको छ । तर, दाताहरू र बिरामीका आफन्तसँग समन्वय गरेर मुस्किलले ७० पिन्टजति मात्र उपलब्ध गराउन सकिएको र समग्र कोशी प्रदेशमा दैनिक करिब ४ सय पिन्ट रगत आवश्यक पर्ने भए पनि आपूर्ति झन्डै ५० प्रतिशतमा सीमित रहेको रक्तसञ्चार सेवा अधिकृत यादवको भनाइ छ ।
उपचारका लागि रगत आवश्यक पर्ने विरामीहरुका लागि सुरक्षाकर्मी नै अन्तिम सहारा बनेका छन् । कतै रगत नपाएपछि बिरामीका आफन्त नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ढोका ढकढक्याउन पुग्ने गरेका छन् । सुरक्षाकर्मीले आफ्नो जिम्मेवारीभन्दा माथि उठेर रगत दिँदै बिरामीको ज्यान बचाइ सहयोग गर्दै आएका छन ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार रगतको माग गर्दै दैनिकजसो फोन आउने गरेका छन् । ‘मिल्दो समूहको रगत भएका प्रहरीलाई तत्काल सम्पर्क गरेर बिरामीका आफन्तसम्म पठाउने गरेका छौं,’ उनी भन्छन् । ठूलो संख्यामा एउटै स्थानमा बस्ने भएकाले सुरक्षाकर्मीबाट छिटो रगत उपलब्ध हुने अपेक्षा सर्वसाधारणले गर्नु स्वाभाविक भएको कटवालको भनाइ छ ।
आकस्मिक रुपमा मात्र नभएर विभिन्न संघ संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमहरुमा समेत सुरक्षाकर्मीहरुको सहभागिता उल्लेखनिय हुने गरेको देखिन्छ ।
प्रतिक्रिया