बाबुराम कार्की
सुनसरी । सूर्यमूखी खेतीमा रोग र किराको प्रकोप बढेपछि खेती प्रभावित बनेको छ । समस्याका कारण उत्पादन प्रभावित बन्न थालेपछि सुनसरीका कतिपय किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् ।
सुनसरीको उत्तरी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन र भोक्रहाका किसानले सूर्यमूखी खेती गर्न छाडेका हुन् । रोग र किराको प्रकोप बढेपछि बराहक्षेत्र १० प्रकाशपुरका श्याम कटुवालले यस वर्ष खेती नै गरेनन् ।
प्रत्येक वर्ष दुई कठ्ठामा उनले सूर्यमुखी खेती गर्ने गरेका थिए ।
एकातिर गुणस्तरीय बिउ नपाउने अनि लगाएको बालीमा पनि रोग र किराको प्रकोप बढ्न थालेपनि उनले यस वर्ष खेती गरेनन् ।
‘पहिलेजस्तो राम्रो बिउ पाइँदैन’ उनले भने, ‘हाँगा हाँगा भएर बोट आउने खाले बिउ गुणस्तरीय भएन, त्यसैले यो खेती नै छाडियो ।’
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार सुनसरीमा आर्थिक वर्ष ०७८÷०७९ मा २ सय १ हेक्टर क्षेत्रफलमा खेती भएकोमा २ सय ६४ मेक्ट्रिटन उत्पादन भएको थियो ।
यस वर्ष सूर्यमूखी खेतीको उत्पादन क्षेत्र प्रकाशपुर मधुवन, सालबन्दी र भोक्राहा क्षेत्रमै कम खेती भएको छ । यस वर्षको तथ्यांक आउन अझै एक महिना लाग्ने उनले बताए ।
बराहक्षेत्र ९ का कृषक जंगली कविरथ भन्छन् ‘दुई वर्ष अगाडि ५ कठ्ठामा लगाएको सूर्यमुखी उत्पादन राम्रै भएको थियो । गत वर्ष डेढ कठ्ठा क्षेत्रफलमा सूर्यमुखी लगाए पनि साना साना पूmल लागेकाले उत्पादन सोचेजस्तो भएन । राम्रो खालको बिउ पाइन छाडेकाल यो वर्ष यो खेती नै गरिन ।’
प्रकाशपुरका कृषक सोतिस चन्द्रवंशीले पहिलाको जस्तो फूल खेती राम्रो नहँुदा खेती लगाउन छोडेका छन् । कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहरा प्राविधिक अधिकृत विनोद यादव भन्छन् ‘माटोको नमूना परीक्षण र रोगी बोटको परीक्षण गरेपछि मात्रै रोग किराको पहिचान र निदान गर्न सकिन्छ । किसानहरुले समयमै जानकारी नगराउँदा समस्या पहिचान भएन ।’
गत वर्षदेखि सूर्यमुखीको बिउ बेलामा नपाउँदा बराहक्षेत्र १० का भीम खड्काले खेती गर्न पाएनन् । ‘किसानले घरमै राखेको बिउ रोप्दा नउम्रने, उम्रेको बिउ पनि हाँगा छोडेर आउने बोट अग्लो हुने हँुदा उपचार गरेर कम्पनीहरुले निकालेको बिउ मात्रै राम्रो हुन्छ । त्यस्तो राम्रो बिउ बजारमा आउनै छाड्यो’ उनले भने ।
सूर्यमुखी खेती गर्ने कृषकहरुको संख्या सुनसरीका ग्रामीण क्षेत्रमा घट्दो छ । तेल राम्रो आउने र खान पनि राम्रो हुने हुँदा अरु खेती गर्न छाडेर सूर्यमुखी खेती गर्दै आएका थिए ।
पछिल्लो समय रोग र किराले सताएकाले किसानले रोप्न छाडेको पि. एण्ड जी एग्रो बिजनेस इटहरीका सञ्चालक अर्जुन अधिकारी बताउँछन् । उनले भने ‘गत वर्षदेखि किसानले सूर्यमुखीको बिउ नखोज्दा बिउ बिक्री गर्नै पाइएन ।’
सूर्यमुखी फूलको बिउ उत्पादन गर्ने भारतका कम्पनीहरुले फूलको बिउको उमरशक्ति कम हुँदा बिउको अभाव भएको शिवम कृषि भण्डार भोक्राहाका राजकुमार भगवातले बताए । उनले भने ‘यस वर्ष ७० प्रतिशत किसानले खेती नै लगाउन पाएका छैनन् ।’
बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्राविधिक निरबहादुर राईका अनुसार नगरका १०, ९, ११ र ८ नम्बरका किसानले सूर्यमुखी खेती गर्दै आएकामा नगरले प्याकेज कार्यक्रम गरेर फूल खेतीलाई प्रोत्साहन गरेको थियो । तर पछिल्ला वर्ष यसको खेती घट्दै गएको उनले बताए ।
उनी भन्छन्, ‘बराहक्षेत्र नगरपालिका कृषि शाखाले यस वर्ष २ सय १३ केजी बिउ वितरण ग¥यौँ । बराहक्षेत्र नगरपालिका सूर्यमुखी खेतीका लागि जिल्लामै राम्रो उत्पादन क्षेत्रका रुपमा अगाडि हो ।’
सूर्यमुखी खेतीमा पछिल्ला वर्षदेखि विभिन्न समस्या देखिन थालेपछि किसानहरु तोरी खेतीतर्फ आकर्षित भएको नगर कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।
तेलहनका लागि आत्मनिर्भर बन्दै गरेका सुनसरीका कृषकहरुलाई सूर्यमुखी खेतीतर्फ पुनः आकर्षण गर्न रोग, किराको पहिचान र निदान गरी गुणस्तरीय बिउ उपलब्ध गराउनेतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जान जरुरी छ ।
सूर्यमुखी वर्षाको जुनसुकै ऋतुमा लगाउन सकिन्छ तर तराईका क्षेत्रहरुमा माघ, फागुन महिनामा रोपिन्छ ।
प्रतिक्रिया