विराटनगर । आफ्नै संरक्षणमा रहेका बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ भनेर चिनिने मदन राई खोटाङमा पक्राउ परेका छन् ।
खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका ७५ वर्षीय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
आफैँले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिकाहरुलाई बारम्बार यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ ।
फाउन्डेसनका संस्थापक राईले आफ्नो नग्न शरीर देखाएर बालिकाहरुमाथि अश्लील क्रियाकलाप गर्ने, गोप्य अंगहरु छुन लगाउने, बालिकाका संवेदनशील अंग छुने, शारीरिक सम्पर्कका लागि दबाब दिने गरेको सार्वजनिक भएको थियो ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको निर्देशनमा राईलाई दिउँसो १२ बजेतिर खोटाङ प्रहरीले पक्राउ गरेको हो ।
राईलाई नियन्त्रणमा लिएर पीडित पक्षले दिएको जाहेरीका आधारमा कानुनअनुसार कारबाही अघि बढाउन उनले निर्देशन दिएका थिए ।
खोटाङ प्रहरी प्रमुख डीएसपी मञ्जील मुकारुङले अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान अघि बढाउने तयारी गरिएको बताए ।
‘प्रहरीको सम्पर्कमा आएकी १ जना बालिकाले उनीविरुद्ध लिखित जाहेरी दिएकी छन् । राईले यौन दुर्व्यवहार गर्ने गरेको विषयमा धेरै मौखिक गुनासाहरु लिएर बालिकाहरु आउने गरेको उनको भनाइ छ ।
प्रहरीका अनुसार राईले सञ्चालन गरेको शुभम फाउन्डेसनले खोटाङमा जनजागृति उच्च माध्यमिक विद्यालय सञ्चालन गर्दै आएको छ ।
फाउन्डेसनले ९ वर्षअघि स्कुल सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हो । विद्यालयमा अध्ययनरत धेरैजसो बालबालिका फाउन्डेसनकै होस्टलमा बस्ने गरेको प्रहरीले जनाएको छ ।
होस्टलमा बसेका बालिकाहरुलाई राईले बारम्बार यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया