मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन आज हस्तान्तरण गरिएको छ।
आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४(३) बमोजिम आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएका हुन्।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन प्राप्त गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास निर्माणको गति र रोजगारी सृजनामा प्रभावकारी कदम उठाउनु आवश्यक रहेको औंल्याए। उनले आयोगलाई बलियो, सक्षम र प्रभावकारी बनाउने सन्दर्भमा जनताको सहयोग र राज्यको आवश्यक व्यवस्थाको माग पनि गरे।
खापुङले आयोगको संवैधानिक भूमिका र भ्रष्टाचार नियन्त्रणमा मार्गनिर्देशनको महत्वलाई जोड दिए।
अख्तियारका इटहरी कार्यालय प्रमुख रिजालले जानकारी दिएअनुसार आर्थिक वर्षमा २,३३६ उजुरी दर्ता भए, जस मध्ये १,९३५ उजुरीको छानबिन सम्पन्न भएको छ।
प्रदेशगत विवरणअनुसार, कोशी प्रदेशमा सङ्घीय कार्यालयका ९०१, प्रदेश सरकारका ४८९, स्थानीय तहका १,९०४ गरी कुल ३,२९४ उजुरी दर्ता भएका छन्। उनीहरूले भनेअनुसार वन तथा वातावरण क्षेत्रका उजुरी अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी (२४.४९ प्रतिशत) रहेका छन्।
प्रतिक्रिया