मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष निर्वाचन आयोगले आफ्नो १९औं वार्षिक प्रतिवेदन पेस गरेको छ ।
बुधबार आयोगका कोशी प्रदेश कार्यालयका प्रमुख युवराज गुरागाईंले प्रदेश प्रमुखको विराटनगरस्थित कार्यालयमा नेपालको संविधानको धारा २९४(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङ्गले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको काँधमा अत्यन्त महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे ।
उनले भने, “निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । जनताले सर्वभौम सत्ता र राजकीय अधिकार मतदानमार्फत प्रयोग गर्न पाउँछन् । त्यसैले सबै मतदाताले आफ्नो नामावली दर्ता गरेर जिम्मेवार नागरिकको रूपमा निर्वाचनमा सहभागी हुनुपर्छ ।”
प्रदेश प्रमुख खापुङ्गले विवेकपूर्ण मतदानले मात्र लोकतन्त्र बलियो बन्ने र देश समृद्धितर्फ अघि बढ्ने उल्लेख गर्दै मतदाताहरूलाई सचेत र जिम्मेवार हुन आग्रह गरे ।
प्रतिवेदन बुझाउने क्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख गुरागाईंले गत आर्थिक वर्षमा आयोगमा १२२ मुद्दा दर्ता भएको जानकारी दिए । उनका अनुसार, कोशी प्रदेशमा हाल ३४ लाख ३३ हजार ९ सय मतदाता दर्ता भइसकेका छन् ।
गुरागाईंले आयोगले पारदर्शी निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा र प्राविधिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी पनि दिए ।
प्रतिक्रिया