‘मिनी चिडियाखाना’ बन्दै भालुढुंगा

आइतबार, ३१ बैशाख २०८०
इलाम । इलामको पर्यटकीय स्थल भालुढुंगा मिनी चिडियाखानाको रुपमा विकास गर्न थालिएको छ । यस पर्यटकिय स्थलमा जंगली जनावारसहित भालु समेत राख्ने तयारी भइरहेको छ । सदरमुकाम इलाम बजारबाट उत्तर गढी नजिकै रहेको ओढारे भालुंढुंगा सामुदायिक वन क्षेत्रलाई स्थानीयको पहलमा विकास भइरहेको छ । ओढार र हराभरा वन क्षेत्र रहेको यो सामुदायिक वनमा चिडियाखानाको रुपमा विकास गर्ने सोच अनुरुप पछिल्लो पटक तीनवटा रतुवा मृग राखिएको छ । ओढारे भालुढुंगा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सव डिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताए । विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकहरुको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ । खड्काले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समिति मार्फत एक लाख सहयोग भएको र तारजाली व्यवस्थापन गरिएको जानकारी दिए । उनले सुरेन्द्र राई मार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रडहरु र प्राविधिक उपलव्ध गराएको बताए । भालुढुंगाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहार समेत देख्न पाइने छ । भालुपालनको व्यवस्थापन गर्न नगर पर्यटन प्रवद्र्धन समितिले प्रयाश थालेको छ । यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालन गरिएको छ । उपलव्ध भएका मृगहरुको पालनपोषणका लागि इलाम कृषि विज भण्डारका पशुपति भट्टराईल मासीक ५० केजी चारो उपलव्ध गराएका छन् । इलाम सदरमुकाम छेउमै रहेको भालुढुंगा क्षेत्रको विकासमा स्थानीय स्तरमा गठित भालुढुंगा पर्यटन प्रवद्र्धन विकास संस्था समेत क्रियाशील रहेको छ । संस्थाले समेत यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने भएको छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सी जस्ता रैथाने जनावरको संरक्षण गरी नमुना पार्क समेत बनाइने भएको अध्यक्ष हरि गुरुङ बताउँछन् । भालुढुंगा पर्यटन क्षेत्र आसपासमा होमस्टे व्यवस्थापन गरिएको छ । यहाँसम्म जानका लागि इलाम कारागार हुदै कालोपत्र सडक समेत निर्माण भइसकेको छ । इलाम कजारभन्दा नजिक रहेर पनि यहाँ धेरै पर्यटकहरु सो स्थानमा जाने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार