सन्दकपुरमा उभिएर ६० हिमाल

आइतबार, ३१ बैशाख २०८०
युवराज गौतम पूर्वोत्तर इलामको पर्यटकीयस्थल सन्दकपुरले चर्चा कमाएको वर्षौं वितेको छ । नेपाल–भारतको सिमानामा रहेको यो लेकाली फाँटमा पर्यटक घुमाएर भारतको दार्जिलिङले मनग्गे फाइदा लियो र लिइरहेको छ । बंगालबाट गर्मी छल्न र हिमालसँग मुस्कुराउन बर्षेनी हजारौं पर्यटक यता उक्लिन्छन् । भारतीय बाटो भएर सन्दकपुर पुगेर सुस्काउनेहरुको लर्को लाग्छ । दशकौंदेखि नेपाली भूमि देखाएर दार्जिलिङले फाइदा लिइरह्यो । खासमा नेपाल सरकारको वेवास्ता परेको सन्दकपुर स्थानीय सरकार आएसँगै बौरिन थालेको छ । सन्दकपुर गाउँपालिकाले सक्रियता बढाएसँगै व्यवसायीहरु पनि उत्साहित देखिन थालेका छन् । क्रियाशील पत्रकार सुजन तिम्सिनाले निर्माण गरेको सन्दकपुरको बृत्तचित्र ‘वि विल राइज फाउनडेसन’ले आयोजना गर्ने भिडियो च्यालेञ्ज प्रतियोगितामा उत्कृष्ट भएपछि सन्दकपुरले थप चर्चा पाएको हो । भिडियोमार्फत सन्दकपुरले चर्चा बटुलेसँगै पालिकाका प्रतिनिधि पर्यटनको प्रचार र प्रवद्र्धनमा उत्रिएका छन् । पत्रकार तिम्सिनाले नै तयार गरेको फोटो बुक बोकेर जनप्रतिनिधिहरु काठमाडौंमा दौडधुप गरेर फर्किएका छन् । गाउँपालिकाका वडाध्यक्षहरु सनम राई, यज्ञबहादुर गुरुङ्ग, लिल बहादुर बुर्जा र पत्रकार तिम्सिना दुईसाता काठमाडौं बसेर पूर्वप्रधानमन्त्री, मन्त्रीहरू, पर्यटन व्यवसायी, पत्रकार साथै सरोकारवालाहरुलाई भेटेर सन्दकपुरको प्रवद्र्धनमा हैसे थपिदिन आग्रह गरेका छन । जनप्रतिनिधिले सरकार र मातहतका निकायको ध्यानकर्षण गराएका छन् । बुकी फुल मगमगाउने र लालीगुराँस साथै चिमालले सजिएको सन्दकपुरको विचित्रको परिचय छ । तराईको रापिलो गर्मी छल्न र ट्रेकिङमा रमाउन नेपाली बाटो भएर पर्यटक पुग्न थालेपछि पालिकाले पनि रणनीति परिवर्तन गर्दै सन्दकपुरको थुम्कोलाई अब्बल गन्तब्य बनाउने अभियानमा जुटेको छ । कोशी प्रदेश सरकारले घुम्नैपर्ने स्थानको सूचिमा राखेको सन्दकपुर यतिबेला भने ट्रेकिङ रुटमार्फत पर्यटक ओइर्याउने अभियानमा जुटेको छ । सन्दकपुरको यात्राका लागि उत्तिसारो कठिन छैन । जोरकलशको स्वागतद्वार पार गरेर नागबेली सडकमा हुइँकिदै पहाडको यात्रा प्रारम्भ हुन्छ । सानी पाथिभरा सामुन्ने शिर झुकाउँदै कन्यामको चियाबारी पुगेपछि इलाम पुगेको अनुभूति हुन्छ अनि शुरु हुन्छ पर्यटकीय गन्तब्य पुग्ने ‘आइटीनेरी’ अर्थात घुम्ने तालिकाको बेलिविस्तार । इलामका सबै पर्यटकीय गन्तब्य मनमोहक र पर्यटक लोभ्याउने छन् । त्यसमा पनि सन्दकपुर अझ छुटाउनै नहुने गन्तब्यमध्ये एक हो । सन्दकपुर गाउँपालिकामा पर्ने यो ठाउँ समुन्द्र सतहबाट नौं सयदेखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको छ । प्राचीन शासक लोपोन्मुख लाप्चा जातिको भाषा सन्दक्फु नामबाट अपभ्रम्स भई सन्दकपुर नामाकरण गरिएको इतिहास पाइन्छ । इलामको सबैभन्दा अग्लो डाँडाको रुपमा रहेको सन्दकपुर सदरमुकामबाट ४२ किलोमिटरमाथि चढेपछि पुगिन्छ । सन्दकपुर पुग्नका एउटा इलाम बजारबाट माइपोखरी देउराली माइमझुवा हुँदै एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ, भने अर्को फिक्कल, पशुपतीनगर हुँदै भारतीय भूभागबाट मानेभन्ज्याङ हुँदै ट्याक्सीमा चढेर पुग्न सकिन्छ । नेपाल भारत सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध ठाउँ सन्दकपुरमा कात्तिकदेखि बैशाख सम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको अर्को महत्वपूर्ण पक्ष भनेको हिमालको अवलोकन गर्न पाइनु हो जुन अन्य कतैबाट पनि सम्भव छैन् । यहाँबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान लगायतका देशका करिब ६० भन्दा वढी हिमालको चुचुराहरुको अवलोकन गर्न पाइन्छ । छिनछिमा फेरिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा पर्यटकलाई स्वर्गीय आनन्द दिलाउँछ । अनेकौ प्रजातिमा फुल्ने लालिगुराँस हेरेर विश्वभरका पर्यटक आनन्द लिने गरेका छन् । विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार, सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी चराका बथान, वनस्पति, हिमश्रङ्खला, छाँगा छहरा र यहाँका पौरखि किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसायले पर्यटकलाई थप उत्साहित बनाउने गर्दछ । अग्ला डाँडा र थुम्का थुम्कीबाट देखिने सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य सहित लोपउन्मुख वन्यजन्तु रेडपाण्डा र घरी बाघ अवलोकन पर्यटकका लागि नौलो लाग्छ । यस्तै समुद्री सतहबाट तीन हजार दूई सय मिटरमा रहेको जैविक विविधता तथा प्रकृतिले सिंघाएरीको अर्को उत्कृष्ट पर्यटकीयस्थल नजिकैको छिन्टापुमा फागुन, चैत र बैशाखमा ढकमक्क फुल्ने चाँप गुराँस र सुनाखरीले पर्यटकलाई मोहनी लगाउँछ । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा लोकल कुखुराको सुप, सिस्नो र कोदोको ढिडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कारले पर्यटकको मन थप लोभिन्छ । सन्दकपुर आसपास रहेका बौद्ध धर्मावलम्बिहरुको साधना केन्द्र डुख्याङ गुम्बा, रमिते ढुङ्गा, बालागुरु गुफा, लालबास पोखरी र विश्वकै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा पाइने दोबाटे क्षेत्रले माबुथाम, कालपोखरी नजिकै रहेको लालबास सीमसार क्षेत्र र त्यहाँ अनेकौँ प्रजातिको लालीगुराँस, सुनाखरी फुल र चराहरुको चिरबिर आवाजले पर्यटकलाई थप मन्त्रमुग्ध बनाउँछ । कलात्मक काठेघरहरुमा आरामदायी बसाईसँगै स्थानीय शेर्पा, तामाङ, राई, लिम्बु र गुरुङ्ग जातिको परम्परागत संस्कृति र सहसहनमा रमाउन पाउँदा स्वदेशी तथा विदेशी पर्यटकको फेरि पनि सन्दकपुर आउँ आउँ बनाउँछ । आदिवासी जनजातिको मौलिक रहनसहन, जातीय भेषभुषा र हरेक चाडपर्वहरुमा नाचिने जातीय झाँकीले पनि साँस्कृतिक रौनक थपेको छ । मगर जातिको हुर्रा नाच, सुनुवार जातिको स्यादर चण्डी नाच, किराँत र राई जातिले आफ्नो भेषभुषमा सजिएर नाच्ने उधौली, उभौली र साकेला चण्डी नाचले पर्यटकलाई संस्कृतिमय बनाउने गर्छ । चेलीले माइतीलाई बिदाईको हात हल्लाउँदा गरिने अभिनयमा आधारित संगिनी नाच र लिम्बू जातिले बिहे भोज भतेर र मेला पर्वहरुमा नाचिने धाननाच, पालमनाच, च्याब्रुङ्ग ढोलनाच सन्दकपुरमा जीवन्त राखेका छन् । यस्तै, हिन्दु सनातन समुदायले गर्ने १६ संस्कारमा आधारित सस्कृतिक नृत्य यहाँ बसोबास गर्ने बाम्हण र क्षेत्री समुदायले संरक्षण गरेका हुन् । इलामको लोकप्रिय गन्तब्य माइपोखरीदेखि सन्दकपुर धापपोखरीसम्मको करिब ५० किलोमिटर टे«किङ रुटले टे«किङमा रमाउने पर्यटकहरुको समेत रोजाईमा पर्ने गरेको छ । संघीय सरकारको सक्रियतामा शुरु गरिएको उक्त ट्रेकिङ रुटको यात्रा गर्न ३ दिन छुट्याउनुपर्ने हुन्छ । इलाम घुम्न जाँदा सन्दकपुर घुमफिरकै लागि दुइ दिन छुट्याउने हो भने सन्दकपुरका प्रायः सबै पर्यटकीय गन्तब्यको अवलोकन गर्न सकिन्छ । सन्दकपुरमा बस्न खानका लागि सुपथ मूल्यमा होटल र होमस्टे व्यवस्था गरिएको छ । सन्दकपुरको डाँडामा भने तलको भन्दा केही महँगो पर्ने गरेको छ । सन्दकपुर घुमफिरमा समूहमा निस्कदा ६ देखि ८ हजारसम्म सम्म र एक्लै निस्कदा १५ हजारसम्म खर्च छुट्याउनुपर्ने हुन्छ । सन्दकपुरको पर्यटन प्रवर्द्धन गर्न काठमाडौं आएका जनप्रतिनिधिहरु सनम राई, लिलबहादुर पुर्जा, यज्ञबहादुर गुरुङ र पत्रकार सुजन तिम्सिनाले सन्दकपुरलाई अब्बल गन्तब्य बनाउने विभिन्न योजनाहरु रहेको सुनाए । सन्दकपुर चिनाउने फोटोबुक र बृत्तचित्र समेत तयार गरेको जानकारी दिंदै पत्रकार तिम्सिनाले भने,‘ सन्दकपुरबाट नेपाल, भारत, तिब्बत र भुटानका ६० भन्दा बढी हिमाललाई कुम जोडिएझै १० डिग्रीको सोझो सतहमा अंगालो हालेजस्तै आँखा अगाडि अवलोकन गर्न सकिन्छ । विभिन्न अध्ययनले सन्दकपुरलाई दक्षिण एसियामै एकसाथ ६० हिमाल देख्न सकिने एकमात्र ठाउँ रहेको प्रमाणित गरिसकेको छ ।’ सन्दकपुरको मुख्य थुम्कोबाट सगरमाथा, कंचनजंघा, मकालु पाथीभरा, कुम्भकर्णलगायत हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । चार देशका हिमाल यही थुम्कोबाट मजाले हेर्न पाइन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार