सुत्केरी पोषण कार्यक्रमः झुपडीसम्म स्थानीय सरकारको आड भरोसा

आइतबार, ३१ बैशाख २०८०
प्रकाश तिम्सिना इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर–१७ मझौराकी मनकुमारी राईलाई अघिपछि आफ्नो मोबाइलमा सेभ गरिएका नम्बरबाट फोन आइरहन्थे । माघ २२ गते भने बिल्कुलै नयाँ नम्बरबाट फोन आयो । ‘हेलो’ मनकुमारीले भनिन् । उताबाट परिचय दिइयो– उनी पकली स्वास्थ्य चौकीकी सिनियर अनमी प्रमिला बञ्जारा थिइन् । परिचयपछि बञ्जाराले मनकुमारीलाई सोधिन, ‘सञ्चो विसञ्चो कस्तो छ ?’ मनकुमारीले आफ्नो जवाफ फर्काउँदै स्वास्थ्य समस्याबारे दर्साउन थालिन् । बञ्जाराले मनकुमारीको समस्या सुनेपछि केही सुझाव पनि दिइन् अनि गर्भावस्थामा नियमित जँचाउने र अस्पतालमा बच्चा पाउनेले पाउने रकमबारे प्रष्ट्याइन् । मनकुमारी भोलिपल्टै अर्थात् माघ २३ गते स्वास्थ्य चौकी पुगेर नियमित स्वास्थ्य जँचाउन थालिन् । ३८ वर्षीय मनकुमारीलाई पहिलो सन्तान हुँदा कसैले चासै लिएका थिएनन् । दोस्रो गर्भ बसेको बेला भने उपमहानगरको बेलैदेखि चासो लिएर सहयोग ग¥यो । यसबाट उनले आडभरोसा पाएको अनुभव गरिन् । दोस्रो सन्तान हुँदा मनकुमारीले पटकपटक स्वास्थ्यकर्मीसँग परामर्श लिइरहिन् । स्वास्थ्यकर्मीले दिएका सल्लाहअनुसार चल्दै गइन् । उनले पहिलो सन्तान घरमै जन्माएकी थिइन् । दोस्रो पटक भने व्यथाले च्यापेपछि अस्पताल भर्ना भइन् । इटहरी अस्पतालमै छोरा जन्माइन् । नियमअनुसार उपमहानगरपालिकाले प्रदान गर्दै आएको रकम पनि पाइन् । ‘स्वास्थ्यकर्मीले गर्भ जाँच गर्दादेखि छोरा भएर रकम पाउँदासम्मको हेरचाहले म सन्तुष्ट भए,’ उनले भनिन् । पहिलो सन्तान हुँदा खुसी साटासाट गरिरहेका सोही ठाउँका ३२ वर्षीय सागर चौधरी र २१ वर्षीया निकिता पनि खवास खुसी छन् । चौधरी दम्पतीलाई स्वास्थ्य जाँच गर्दादेखि बच्चा हुँदासम्मको समयमा स्वास्थ्यकर्मीद्वारा नियमित टेलिफोनमार्फत परामर्श भइरह्यो । अन्त्यमा सुत्केरी पोषण कार्यक्रम अन्तर्गत पाउने २१ सय रुपैयाँ पनि प्राप्त भयो । यसबाट स्थानीय सरकार सर्वसाधारणको घर आँगनकै भएको महसुस भएको निकिताले बताइन् । ‘२१ सय रुपैयाँले त केही त हुँदैन,’ सागर भन्छन् ‘स्वास्थ्यकर्मीको सेवाले घरमा सुत्केरी गराउनु हँुदैन भन्ने ज्ञान दिएको छ ।’ सागरका अनुसार अस्पतालमा सुत्केरी गराउँदा एकातर्फ सुत्केरी सुरक्षित हुने, अर्कातर्फ थोरै भएपनि पैसा पाइन्छ ।' इटहरी–२ की होममाया मगरलाईं पनि स्वास्थ्यकर्मीबाट नियमित परामर्श भयो । उनको पनि पहिलो सन्तान घरमै भएको थियो । दोस्रो सन्तान अस्पतालमा भयो । मनकुमारी, निकिता र होममाया उहाहरणका पात्र हुन् । इटहरीको भित्री क्षेत्रहरुमा अहिले पनि गाउँले रहनसहन हटिसकेको छैन । जसले गर्दा पहिला पहिला अधिकांशले घरमै बच्चा पाउँथे, नियम अनुसार घरमा बच्चा पाउँनेलाई पैसा पाउँदैन्थे । अब अवस्था फेरिएको छ । गाउँलेमा चेतना बढेको छ । धेरैजसोले अस्पताल वा स्वास्थ्य केन्द्रमा बच्चा जन्माउन थालेका छन् । यसले गर्दा आमा र सन्तानलाई सुरक्षित राख्न मद्दत गर्ने गरेको इटहरी उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख दिनेश चौधरीले बताए । रकम थोरै भएपनि मातृशिशु र सुत्केरी महिलाको सुरक्षालाई ध्यानमा राखेर सुरु गरिएको कार्यक्रमले प्रभावकारी भूमिका खेलेको चौधरीको दाबी छ । यो कार्यक्रम लागू गर्दा चुनौती प्रशस्त थिए । ‘लक्षित वर्गमा सकारात्मक प्रभाव प¥यो जसले गर्दा कार्यक्रम प्रभावकारी रह्यो,’ शाखा प्रमुख चौधरी भन्छन् ‘नगरका २० वटै स्वास्थ्य संस्थाबाट रकम प्रदान गर्ने भएकाले नगरसम्म पनि धाउनु पर्दैन । रकम लिन झन्झट पनि छैन ।’ चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा २० लाख रुपैयाँ सुत्केरी पोषण कार्यक्रमका लागि छुट्याइएको थियो । चालु आर्थिक वर्षको १० महिनाको अबधिमा आठ सयजना सुत्केरी महिलाले लाभ लिएको स्थास्थ्य शाखाको रेकर्डमा उल्लेख छ । सुत्केरी पोषण कार्यक्रमले सोचेभन्दा राम्रो प्रभाव पारेपछि उपमहानगरलाई गाउँसम्म जोड्ने माध्यम बनाएको छ । ‘घरघरमै असुरक्षित रुपमा सुत्केरी हुने समस्याको रोकिएको छ,’ उपप्रमुख संगीता चौधरीले भनिन, ‘धेरै महिलालाई यस कार्यक्रमले हौसला प्रदान गरेको छ ।’ उनका अनुसार सुत्केरी पोषण कार्यक्रमले ग्रामीण वडाका महिलाहरुमा अस्पतालसम्म जानु पर्छ भन्ने ज्ञान बढाएको छ । जसले गर्दा उनीहरुको ज्यान सुरक्षित मात्रै हैन मृत्युदरमा पनि कमी ल्याएको छ । त्यसो त जनता बहुमुखी क्याम्पस इटहरीकी प्राध्यापक टिका आत्रेय हुने खाने र हुँदा खाने वर्गलाई एकैनासले सुत्केरी पोषण रकम वितरण गर्न नहुने तर्क गर्छिन् । वास्तविक गरिब, पिछडिएको समुदाय वा उनीहरुको अवस्था हेरेर सहयोग गरे उपचार नै नपाएर आमा र बच्चाको मृत्यु हुने क्रममा कमि आउने उनको तर्क छ । सुत्केरी पोषण कार्यक्रम प्रभावकारी बन्दै गएपछि आगामी वर्षहरुमा पनि व्यवस्थित रुपले सञ्चालन गर्ने उपमहानगरको तयारी छ । जसले गर्दा सरकारलाई जनताका झुपडीसम्म पुर्याउन भूमिका खेल्नु उपमहानगरको दाबी छ । घरदैलोको सरकारले जनतालाई सहज सेवा दिनु पर्छ भन्ने उद्देश्यले नगरले केही नयाँपनका काम गरिरहेको छ । मेयर हेमकर्ण पौडलले हरेक नागरिकलाई जति सक्दो चाडो र भरपर्दाे सेवासुविधा दिनेबारे गम्भीर रहेको बताए । ‘सरकार भएको अनुभूति हुने गरी इटहरीमा काम हुँदै गएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार