चालु आर्थिक वर्षमा मौरी पालन र ब्यवसायिकताका लागि गाउँपालिकाले ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका पशुशाखा प्रमुख तीर्थराज देवकोटाले जानकारी दिए । मौरीपालन ब्यवसायलाई रोङको पहिचान बनाउन गाउँपालिकाले थप लगानी गरेर मह उत्पादनमा जोड दिइने गरिको कार्यक्रम अगाडी बढाइएको उनको भनाई छ ।
यस गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरी पालनको विकासमा लागेको छ । मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनु पर्ने बताइएको छ । साथै मौरी रहेमा मह समेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने छ ।
परागशेचनले ताकारीबाली फल्न समेत मद्धत गर्ने भएकाले पनि मौरी जोगाउन गाउँपालिकाले लगानी गरेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाई छ । मौरीले बिषादी सेवन गर्ने भएकाले विभिन्न रोगहरुबाट मानिसलाई बचाउने गरेको मौरीविज्ञहरुको भनाई छ ।
गाउँपलिकाले किटेनीबाट नजिकै पर्ने हडियामा डेढ रोपनी जग्गामा मौरी विकास केन्द्र स्थापना गरेर काम गरिरहेको छ । केन्द्रमा हाल ३२ घार मौरी रहेका छन् ।
गाउँपालिकाले सो क्षेत्र मौरीमा राम्रो सम्भावना देखेर मौरीका लागि छुट्टै शाखा र श्रोत समेत छुट्याएको छ । मौरी विज्ञका रुपमा रहेका सोही गाउँपलिकाका कुमार तामाङलाई मौरी श्रोत ब्यक्तिका रुपमा राखेर कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकामा मौरीको लागि मौरी विकास शाखा छ । तामाङले मौरी पालनको लागि उचित क्षेत्रको छनौट, किसानको छनौट, तालिम सञ्चालन, तथा अनुदानमा घार वितरण गर्न सिफारीस गर्ने लगायतका कार्य गर्नु पर्दछ । मौरीको उपचार गर्ने सम्मको जिम्मेवारी उनले पाएका छन् ।
मौरी विकास केन्द्रबाट मह उत्पादन, मौरीको गोला, घार र मैनको विक्रीबाट गाउँपलिकाको आम्दानी बढाउने लक्ष छ । यसका लागि गाउँपादिकाले छुट्टै कार्यक्रम अघि बढाएको छ । अनुदानमा पाएका घार तथा मौरीका लागि समेत शर्त पालना गर्नु पर्ने बताइएको छ ।
मौरीका लागि समेत छुट्टै बिशेषता सहितको क्षेत्र आवश्यक पर्छ । खुसीको मौरी खुस परेको क्षेत्रमा बस्ने गर्दछ । गाउँपालिकाको पनि सलकपुर, जिर्मले, भालुझोडा, किटेनी, शान्तिपुरको बदमटार, इरौटार, लगायतका क्षेत्रमा मौरी रमाएर बस्ने गर्दछन् ।
सबै घारलाई आधुनिक बनाउन गाउँपालिकाले काम अगाडी बढाएको छ । तीन हजार परम्परागत र एक हजार वढि आधुनिक घार रहेको बताइएको छ । गाउँपालिकाले ६ सय घर परिवारलाई मौरी पालनमा आवद्ध गर्ने लक्ष्य राखेको छ । हाल करिव चार सय परिवारले मौरी पाल्दै आएको बताइएको छ ।
मैरी पालनको लागि गाउँपालिकाले दिने तालिम र घारको अनुदान लिन घरमा परम्परागत रुपमा भएपनि मौरी पालिएको हुनुपर्ने अनिवार्य शर्त छ । हाल गाउँपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागत हुनु पर्ने बताइएको छ ।
एउटा आधुनिक घरमा वर्षमा १० देखि १२ किलोसम्म मह उत्पादन हुने गरेको छ । मौरी पालनको लागि छुट्टै जग्गाको व्यवस्थापन गरिरहनु पर्दैन । यसलाई घुसुवा बालिको रुपमा अन्यखेती गरिएको स्थानमा राख्न सकिन्छ । मौरी पालनमा अन्य व्यवसायमा जस्तो कडा मेहेनत आवश्यक पर्दैन । बेला बखत मौरीको स्याहार चाकर गरेर, मौरीलाई सुरक्षित रुपमा राख्न सके आम्दानी हात लाग्छ । तर, परम्परागत घारमा मौरी पाल्दा आधुनिक घारको जस्तो कमाई हुँदैन ।
परम्परागत घारमा वर्षको एक देखि दुई पटक मात्रै मह काड्न सकिन्छ । परम्परागत घारमा बच्चा समेत नासिने भएकाले मौरीको बृद्धिमा समेत समस्या आउछ । मौरी पालनको लागि एक पटक लगानी गरेपछि वर्षैसम्म आम्दानी भइरहने भएकाले किसान मौरी पालनमा आकर्षित हुँदैछन् ।
गाउँपालिकाले मौरी पालनको लागि बिशेष कार्यक्रम सञ्चालनमा ल्याएपछि यसको ब्यवसाय फस्टाउँदै गएको छ । चुरे क्षेत्रमा पर्ने यस गाउँपालिकाले चुरे संरक्षण, बिषादी न्युनिकरण र किसानहरुको आय आर्जनमा बृद्धि गराउन मौरी पालनको कार्यक्रम सुरु गरेको थियो ।
प्रतिक्रिया