सातै प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने तयारी

विहीबार, २५ जेठ २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नै पुनर्संरचना गरेर बेथिति अन्त्यको प्रयास थालेको छ । आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई समेट्दै प्रादेशिक विश्वविद्यालय स्थापना गरेर त्रिभुवन विश्वविद्यालय पुनर्संरचना गर्न लागिएको हो । यसका लागि विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय नै गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६२ आंगिक र एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । यी सबै क्याम्पसको अध्ययन, अध्यापन तथा गुणस्तर लगायतका विषयमा विश्वविद्यालयले राम्रोसँग अनुगमन गर्न सकेको छैन । सरकारले नै त्रिभुवन विश्वविद्यालयका क्याम्पसलाई समेटेर नयाँ विश्वविद्यालय स्थापना गर्ने क्रमसमेत रोकेको छैन । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालयले आफ्नै पुनर्संरचना गरेर प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने योजना अघि बढाएको हो । त्रिविले आवश्यकता अनुसार हरेक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्नेछ । शिक्षाध्यक्ष शिवलाल भुसालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको पुनसर्संरचनासम्बन्धी प्रतिवेदनलाई कार्यकारी परिषद्ले पास गरिसकेको छ । त्रिविले नै स्थापना गरेका विश्वविद्यालयहरु प्रदेश सरकार मातहत रहने छन् । शिक्षाध्यक्षको नेतृत्वमा रहने प्रदेश विश्वविद्यालयले आवश्यकताअनुसार नयाँ संकाय र विषयसमेत अध्ययन अध्यापन गराउन सक्ने छन् । तर त्यस्ता विश्वविद्यालय सञ्चालनको खर्च भने प्रदेश सरकारले नै बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसबाट त्रिभुवन विश्वविद्यालयसँगै प्रादेशिक विश्वविद्यालयको गुणस्तर सुधारसँगै व्यवस्थापकीय पक्ष राम्रो हुने अपेक्षा छ । त्यति मात्र होइन, आफ्नो मान्छेलाई उपकुलपति र पदाधिकारी बनाउनकै लागि नयाँ विश्वविद्यालय स्थापना गर्ने होडबाजीसमेत अन्त्य हुने बुझाइ विज्ञको छ । त्यसो त अहिले नै ११ वटा संघीय र पाँचवटा प्रादेशिक विश्वविद्यालय सञ्चालनमा छन् । प्राय विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकै क्याम्पसलाई समेटेर स्थापना गरिएका हुन् । राजर्षि लगायतका केही विश्वविद्यालय त संकटमा छन् । अब त्रिभुवन विश्वविद्यालय नै प्रदेशमा समेत आवश्यकताअनुसार विश्वविद्यालय बनाउने हो भने शिक्षामा देखिएको विकृति कम गर्न सकिने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार