नमुना विद्यालय : पढाईसँगै पशुपालनदेखि ड्रागनफ्रुट खेतीसम्म

शनिबार, ०२ असार २०८०
सुरेन्द्र भण्डारी/झापा झापाका अधिकांश सामुदायिक विद्यालयको जमिन संरक्षण नहुँदा अतिक्रमण भएका छन् । कतिपय विद्यालयले आर्थिक अभावका कारण मालपोत करसमेत बुझाउन सकिरहेका छैनन् । कमल गाउँपालिका–७ मा रहेको सरस्वती माध्यमिक विद्यालयले भने भएको जमिन संरक्षण गर्दै दिगो आर्थिक व्यवस्थापनका लागि खेतीसमेत गरिरहेको छ । प्राविधिक शिक्षासमेत अध्ययन हुने यो विद्यालयले विद्यार्थीकै सहभागितामा पशुपालन पनि गरिरहेको छ । मुर्रा प्रजातिको राँगोदेखि उन्नत र स्थानीय जातका पशु पालेर मनग्य आम्दानी गरिरहेको प्रधानाध्यापक रुकमान सुब्बाले बताए । २०१४ सालमा स्थापिते विद्यालयले आठ कठ्ठा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गरेको छ । १० कठ्ठा क्षेत्रफलमा सुपारी खेती गरेको छ । त्यति नै जमिनमा आँपलगायत फलफूल खेती गरेको छ । विद्यालयमा आम्दानीको स्रोत जुटाउन एक हजार चार सय ड्रागन फ्रुटका विरुवा रोपिएको थियो । अहिले फलदिने अवस्थामा पुगेको प्रधानाध्यापक सुब्बाले बताए । आँप पनि फल्न शुरु गरेको छ । सुपारीचाहिँ भर्खरै रोपिएकाले रेखदेखको कार्य भइरहेको उनको भनाई छ । विद्यालयको जमिन साढे ६ विगाहा छ । ती खेती गरेर बाँकी रहेको जमिनमा उन्नत जातको घाँस र अरु वाली लगाउने गरिएको छ । यसका लागि छुट्टै एकजना कर्मचारी राखिएको छ । विद्यालयको जमिनमा तरकारी खेती पनि गरिएको छ । यसका लागि कोशी प्रदेश सरकारको सहयोगमा टनेल निर्माण गरिएको छ । गाउँपालिकाले समेत आर्थिक सहयोग गरेपछि बेर्ना उत्पादन गर्दै विक्री गर्ने गरिएको छ । विद्यालयले पशुपालनतर्फ पाँच माउ उन्नत जातका गाई, तीन माउ भैंसी, वोयर बोका, वाख्रा र मुर्रा प्रजातिको राँगो र स्थानीय जातको राँगो समेत पालन गरिएको छ । ‘हामीले पालेको राँगाले यहाँका स्थानीयलाई समेत सहज भएको छ’ प्रधानाध्यापक सुब्बाले भने, ‘मुर्रा प्रजातिको राँगो र अन्य प्रजातिका राँगो भैसीलाई बीऊका रुपमा प्रयोगमा ल्याइएको छ ।’ बोयर जातको बोकाले समेत यस क्षेत्रका स्थानीयलाई सहयोग पुगेको छ । प्राविधिक शिक्षा अध्ययनका लागि आउने विद्यार्थीलाई व्यावहारिक ज्ञानसँगै प्राविधिक ज्ञान सिकाउन विद्यालयले खेतीपाती र पशुपालन गरेको हो । त्यसबाट आयस्रोत जुटाउन पनि सहयोग पुगेको छ । भेटेरिनरी र बाली विज्ञान अध्ययन अध्यापन हुने यो जिल्लाकै पहिलो सामुदायिक विद्यालय हो । ‘टेक्निकल एजुकेशन इन कम्युनिटी स्कूल’ का रुपमा रहेको यो विद्यालयमा प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीको संख्या १२५ छ । माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ८ सय छ । प्राविधिक धारमा बाली विज्ञानतर्फ १८ महिने प्रि–डिप्लोमा, आईएससीएजी तीन वर्षे डिप्लोमाका कक्षा सञ्चालनमा छन् । १८ महिने भेटेरिनरी प्रि–डिप्लोमाका कक्षा सञ्चालनमा छन् । प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीका लागि सहज होस् भन्ने अभिप्रायले विद्यालयले खेती र पशुपालन गरेको जनाएको छ । नेपाल सरकार व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) ले विद्यालयलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । परियोजनाका पार्ट टु प्रोग्राम अन्तर्गत विद्यालयलाई इभेन्टले आर्थिक सहयोग गरेको हो । परियोजनाले आर्थिक सहयोग गरेसँगै प्राविधिक शिक्षा अध्ययनका लागि विद्यालयले भौतिक पूर्वाधारसहित आवश्यक उपकरण खरिद गरेको प्रधानाध्यापक सुब्बाले बताए । इभेन्टकै सहयोगमा विद्यालयले राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट मुर्रा राँगो खरिद गरेको र विद्यालयमा ‘मिल्क एनलाइजर’ सहितका उपकरण खरिद गरिएको छ । योसँगै ड्रागनफ्रुट खेती, सुपारी खेतीसहित पशुपलनमा लगानी गरिएको छ । इभेन्टकै सहयोगमा चारथान एक्साइड ब्याट्री खरिद, इन्भर्टर, एलजी १५ लिटरको रेफ्रिजेनेरेटर, गाईका अंगहरुको नमूना, गाई गोठ निर्माण, वाख्राखोर निर्माण, कुखुरा खोर निर्माण, ८ थान ल्यापटप खरिद गरिएको छ । चार थान कम्प्युटर, मिनी टिलर, चाप कटर खरिद, कृषि औजार खरिद गरिएको छ भने ‘डग क्याचर’ र औषधि, डिस्प्ले वोर्ड, शैक्षिक सामग्री र खेल सामग्री खरिद गरिएको प्रधानाध्यापक सुब्बाले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले विभिन्न १८ वटा सूचक पार गर्दै अहिले सरस्वती माध्यमिक विद्यालय नमूना विद्यालयका स्थापित भएको प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक रविन बुढाथोकीले बताए । ग्रामीण क्षेत्रमा कृषि विद्यालय सञ्चालन गरेसँगै यहाँका नागरिकलाई फाइदा पुगेको उनको भनाई छ । विद्यालयले वाली विज्ञान र भेटेरिनरीका कक्षा सञ्चालन गर्दा वाली र पशुमा लाग्ने रोगका विषयमा विद्यार्थीलाई बुझाउनका लागि खेती र पशुपालनले मद्दत पुगेको वुढाथोकीको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार