इलाम । इलामका आठ स्थानी तहलाई अनुदानमा प्राप्त रासायनिक मलको कोटा निर्धारण गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडले इलामका लागि गत जेठ २१ गते २३ सय बोरा यूरिया छुट्याएको थियो । सोही अनुसार इलामका आठ स्थातीय तहले अनुदानको मल पाएका हुन् ।
यसरी मल पाउनेहरुमा इलाम नगरपालिकाले ३ सय बोरा, सूर्योदय नगरपालिकाले ३ सय ६० बोरा, देउमाई नगरपालिकाले २ सय ६० बोरा,माईजोगमाई गाउँपालिकाले २ सय बोरा, रोङ गाउँपालिकाले ३ सय बोरा, चुलाचुली गाउँपालिकाले ४ सय बोरा, माई नगरपालिकाले ३ सय ६० बोरा र सन्दकपुर गाउँपालिकाले १ सय २० बोरा पाएका छन् ।
फाकफोकथुम र माङसेबुङ गाउँपालिकामा भने कुनै सहकारी दर्ता नभएकोले माग नभएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
कृषि सामाग्री कम्पनी इलामको गोदाममा मौज्दातमा रहेको यूरिया र डिएपी भने इलाम नगरपालिका,देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाले पाएका छन् ।
असार ३ गते कोटा बाँडफाँड गरि इलाम नगरपालिकालाई ११ सय ३६ बोरा यूरिया र ६ सय ९३ बोरा डिएपी, देउमाई नगरपालिकालाई ६ सय बोरा यूरिया र १ सय ५० बोरा डिएपी, माईजोगमाई गाउँपालिकालाई २ सय बोरा यूरिया रहेको छ ।
ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाका अनुसार यसरी प्राप्त भएको मल स्थानिय तहको मल वितरण ब्यवस्थापन समितिको निणर्य बमोजिम सहकारी र विक्रेताहरुले बजार मुल्य भन्दा सस्तोमा किसानहरुलाई विक्री गर्नुपर्नेछ ।
कोटामा प्राप्त भएको मल स्थानीय तहले असार १० गते भित्रमा साल्ट ट्रेडिङ कर्पोरेशन विर्तामोडबाट उठाइसक्नुपर्ने छ।
कतिपय स्थानीय तहले तोकिएको समयमा मल नउठाइदिँदा अनुदानको मल पाउनबाट किसान वञ्चित हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
फागुनयता हरेक महिना सरकारले किसानका लागि अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनीमा दर्ता भएका सहकारीहरुले मात्र अनुदानको मल पाउने प्रावधान छ ।
सरकारले उपलब्ध गराउने अनुदानको मलमा यूरिया प्रति केजी १४ रुपैयाँ, डिएपी ४३ रुपैयाँ र पोटास प्रतिकेजी ३१ रुपैयाँ पर्ने गर्छ ।
सहकारीहरुले संचालन खर्च प्रति केजी १ रुपैयाँ र ढुवानी भाडा जोडेर मल विक्री गर्नुपर्नेछ । तर इलामका कतिपय सहकारीहरुले अनुदानको मल धेरै महंगोमा बेच्ने गरेको र वास्तविक किसानले नपाउने गरेको गुनासो छ ।
प्रतिक्रिया