उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ स्थित पुरानो विद्यालय जनप्रेमी माविले हिरक महोत्सव मनाउने भएको छ । स्थापना भएको ६० औं वर्ष पुगेको अवसरमा आगामी फागुन १५ गते विद्यालयले हिरक महोत्वस मनाउने भएको हो ।
विद्यालयका प्रधानाध्यापक डोमिला धमलाले महोत्सवका अवसरमा स्मारिका प्रकाशन , हिरक स्तम्भ निर्माण लगायतकका कार्यक्रमहरु गरिनेछ । त्यसैगरी विद्यालयको शैक्षिक क्षेत्रलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिनेछ ।
महोत्सवका लागि विभिन्न उपसमितिहरु समेत गठन भईसकेको पनि प्रधानाध्यापक धमलाले बताउनुभयो । उपसमितिहरुमा पूर्ववडाध्यक्ष धनकुमार दनुवारको संयोजकत्वमा अर्थ समिति , मदन तामाङ्गको संयोजकत्वमा स्मारक निर्माण समिति , शुरेस दनुवारको संयोजकत्वमा व्यवस्थापन समिति , ईश्वर पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।
त्यसैगरी स्मारिका लेखन तथा संकलन समितिको संयोजकमा प्रदिप ढुंगाना रहनुभएको छ । महोत्सव सम्पन्न गर्न सवैलाई सहकार्य र सहयोग गर्न पनि विद्यालयले आग्रह गरेको छ । विद्यालय यस क्षेत्रकै पुरानो विद्यालय हो ।
२०१९ सालमा स्थापना भएको विद्यालयले ६० वर्ष पुग्दा समेत यसअघि कुनै महोत्सव गरेको थिएन । यसपटकको महोत्सवले विद्यालयको हालसम्मको उपलब्धिलाई संस्थागत गर्ने पनि प्रधानाध्यापक धमलाले बताउनुभयो ।
प्रतिक्रिया