साउनमा मूल्यवृद्धि ७.५२ प्रतिशत

सोमबार, ०१ असोज २०८०
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ४२ प्रतिशत बराबर रहेको छ। यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ। त्यस्तै, काठमाडौँ उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ। गत साउन महिनामा आयात एक दशमलव ६ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ। त्यस्तै, विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर रू एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति रू ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति रू १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार