अरुण तेस्रो जलविद्युत् आयोजनाबाट मुआब्जा नपाएको भन्दै आन्दोलन

मंगलबार, ०९ असोज २०८०
विराटनगर ।  संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह जाने करिब २४ किलोमिटर सडकका पीडितले मुआब्जा नपाएको भन्दै आन्दोलन थालेका छन् । मुआब्जा विवादका कारण पछिल्लो दुई वर्षमा आयोजना निर्माणमा पीडितले अवरोध गरेको यो पाँचौंपटक हो । यसबीच मुआब्जा माग्दै झन्डै ४५ दिन स्थानीयले काम अवरोध गरिसकेका छन् । छ्याङकुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको ५२४ रोपनीको मुआब्जाको दर जिल्ला प्रशासन कार्यालय संखुवासभाले तोके पनि पीडितले पाएका छैनन् । पीडित जग्गाधनीहरुले मुआब्जा नपाएसम्म आन्दोलन जारी राख्ने र काम ठप्प पारिरहने स्थानी पीडित छत्रमणि काफ्लेले जनाएका छन् । २०७८ असार ८ मा लगानी बोर्डले करिब ५२४ रोपनीको मुआब्जा उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी-दिदिड सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । सोही जग्गाको मुआब्जा विवादका कारण पटकपटक काम रोकिँदा दैनिक ८ करोड नोक्सान हुने कम्पनीले दाबी गर्दै आएको लगानी बोर्डका सीईओ सुशील भट्टको भनाइ छ । छुट मुआब्जाबारे दुई वर्षसम्म अध्ययन गरेर ११ फागुन २०७७ मा लगानी बोर्डमा प्रतिवेदन पेस गरिएको थियो । आयोजनाको प्रवेशमार्गमा झन्डै चार सयको घरजग्गा परेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार