सरकारले ९ बुँदे सहमति अझै कार्यान्वयन नगरेको निर्माण व्यवसायीको गुनासो

मंगलबार, ०९ असोज २०८०
  काठमाडौं । निर्माण उद्योग व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारसँग भएको ९ बुँदे सहमति अझै कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रियामा उनले प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गरिएको सहमति अझै पूरा नभएको भन्दै दशैं नजिकिइरहेको समयमा आपूर्ति शृंखलामा समस्या भएको साथै मजदुरहरुलाई भुक्तानी गर्न नसकेको बताए । उनले भने, ‘सरकारले अझसम्म पनि निर्माण उद्योगलाई भुक्तानी नगरेको हुनाले हाम्रो सप्लाई चेनहरु अस्तव्यस्त भएको छ । सप्लाई चेनलाई, मजदुरलाई भुक्तानी गर्न सकिएको छैन । हामी आन्दोलित भयौं, सरकारसँग भएको ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्न हामी डेढ महिनादेखि कुरिरहेका छौं । प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो तर त्यो पूरा भएको छैन ।’ उनले अराजक अवस्थामा मुलुक पुगेको, कर्तव्यबोध कसैले पनि नगरेको भन्दै यसले निर्माण उद्योग धरासायी भएको बताए । यस्तै, उनले अनावश्यक दबाब दिएर बिना बजेटको योजनाहरु कार्यान्वयन गर्न नसक्ने भन्दै म्याद थपमात्रै गरेर समस्याको समाधान नहुने बताए । उनले भने, ‘हामीलाई म्याद थपमात्रै गरेर समस्याको समाधान हुँदैन । अहिले पच्चीस सय, तीनहजार योजनाको म्याद थप हुँदै गर्दा ४ खर्बको भुक्तानी सिर्जना हुन्छ । त्यो भुक्तानी राज्यले कसरी व्यवस्था गर्छ, यो कुरा पनि याद राख्नु पर्छ । अनावश्यक दबाब दिएर बिना बजेटका योजनाहरु पूरा गर्न सकिंदैन, सबै राजनीतिक पार्टीहरुलाई प्रश्न गर्न चाहन्छु त्यस्ता कसरी कार्यान्वयन गर्न सक्छौं ?’ निर्माण उद्योगलाई मध्यममा राखेका कारणले, उद्योग चलायमान नभएको साथै अहिले उद्योगहरु क्षमताको ३० प्रतिशतमात्रै सञ्चालन हुन सकेको उनको भनाई छ । सरकारले व्यवसायमा गरेको कमी कमजोरीहरुलाई सुधार गर्ने र त्यसलाई खबरदारी गर्ने काममा प्रतिपक्षले प्रमुख भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार