सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने भनेको छ । सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारमा जाने र फर्केका श्रमिकका लागि सिपमूलक तालिमलाई अनिवार्य गर्न नसके पनि बढ्ने क्रममा रहेको जानकारी दिनुभयो ।
त्यसो त सरकारले २०७७ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै कार्यविधि बनाएको थियो । कार्यविधि लागु भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रका आधारमा जानुपर्ने उल्लेख छ ।
वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । यसका लागि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि कामसमेत गरिरहेको जनाएको छ ।
व्यवसायीले श्रमिक भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको थियो ।
यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
प्रतिक्रिया