विराटनगर । विराटनगरमा फागुन तेस्रो साताबाट कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पिनसीप हुने भएको छ ।
क्रिकेट संघ मोरङको आयोजनामा बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको हो ।
संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर चैत ३ गतेसम्म चल्ने प्रतियोगिता आयोजनाका लागि तयारी तीव्र पारिएको जानकारी दिएको छ ।
प्रतियोगितमा विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले बताए ।
उनका अनुसार ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगिताअन्तर्गत समूह ‘क’मा त्रिभुवन आर्मी क्बल, सशस्त्र प्रहरी बल, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिस क्बलसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेटिएको कुरैसीको भनाइ छ ।
उनका अनुसार प्रतियोगिताअन्तर्गत दैनिक २ वटा खेलहरु हुने छन् ।
पहिलो खेल बिहान १० र दोस्रो खेल दिउँसो २ बजेबाट गरिने उनले बताए । विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने कुरैसीको भनाइ छ । उद्घाटन खेलमा कर्णाली र गृह प्रदेश कोशीबीच प्रतिस्पर्धा हुने छ ।
पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष कुरैसीले प्रतियोगिता प्रसारणको एकाधिकार विराटनगरको मकालु टेलिभिजनलाई प्रदान गरिएको जानकारी दिए ।
उक्त टेलिभिजनले प्रतियोगिताअन्तर्गतका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने अनुमति पाएको छ ।
प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता आफैंमा एउटा उत्सव भएको बताउँदै अध्यक्ष कुरैसीले त्यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदीले प्रतियोगितालाई सफल र प्रभावकारी बनाउँदै क्रिकेटको प्रवद्र्धनमा टेलिभिजनले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
प्रतिक्रिया