टीका खतिवडा
इलाम / पछिल्लो समय चर्चामा आउन थालेको छ पाटेनागी । इलाम नगरपालिकाको उच्च स्थानमा रहेको यो पाटे नागी डाँडा विभिन्न स्थानीय तह र पाँचथरसँग समेत सीमा जोडिएको स्थानमा पर्दछ ।
पाटेनागीसँगै कुइभिरमा समेत उत्तिकै पर्यटक पुग्छन् । यी दुई स्थान सँगै जोडिएका समेत छन् । कुइभिर देउमाई नगरपालिकामा पर्दछ । पाटे नागी र कुइभिर क्षेत्र इलाम नगरपालिकासँगै, देउमाई र सन्दकपुर गाउँपालिकासँग समेत सीमा जोडिएको क्षेत्र हो । उता पाँचथरको फिदिम नगरपालिकासँग समेत यसको सीमा जोडिएको छ ।
यो स्थानका बारेमा सीमा जोडिएका स्थानीयका तहका बासिन्दालाई पनि धेरै थाहा छैन । पछिल्लो समय यसको चर्चा हुन थालेपछि दिन र रात बिताउन समेत पर्यटकहरू पुग्न थालेका छन् ।
रातको समयमा टेन्ट लिएर समेत पर्यटकहरू पुग्न थालेका छन् । उनीहरूले सो क्षेत्रको अझ विकास हुनु पर्ने बताउने गरेका छन् । कच्ची सडक पुगिसकेको छ । सडक पुगेपछि जिप गाडी सहज रूपमा पुग्छन् । मोटरसाइकल समेत लिएर जाने धेरै पर्यटकहरू छन् ।
कच्ची सडकसमेत पुगेपछि यस क्षेत्रमा दैनिक पर्यटकहरू घुम्न आउने क्रम बढेको छ । यहाँ पुग्नका लागि इलाम र देउमाई नगरपालिकाको सीमा क्षेत्र मानिएको मेची राजमार्ग अन्तर्गत बाघ खोरबाट ७ किलोमिटरमा लाग्ने गरेको छ । यो सामुन्द्रिक सतहबाट ३ हजार ४२ मिटरको उचाइमा पर्ने पर्छ ।
पाटे नागी नामै काफी छ । यहाँ आँखाले भ्याएसम्म नागी देख्न सकिन्छ । चिसो मौसम छ । साना साना डाँडाहरूले यसको सुन्दरतामा वृद्धि गरेको छ ।
यस क्षेत्रबाट उत्तर पट्टिको भागमा दर्जनौँ हिमशृङ्खलाहरू छन् । सयौँ रोपनीमा फैलिएको यस क्षेत्रमा खुला भू–भाग रहेको छ । यहाँ रमाउन आउनेको सङ्ख्या दैनिक बढिरहेको छ । बर्खामा सो क्षेत्रमा पुग्न केही कठिनाइ हुने गरेको छ । हिउँदका दिनमा पैदल यात्रीहरू समेत उत्तिकै सङ्ख्यामा पुग्ने गरेका छन् ।
इलाम सदरमुकाम, पाँचथरको फिदिम, देउमाईको मङ्गलवारे लगायत क्षेत्रसँग नजिक भएर पनि यो क्षेत्रको ठोस विकास र खास चर्चा भने भएको छैन । खुल्ला आकाशमुनि रमाउन आउनेहरूका लागि यो गन्तव्य एकदमै आकर्षक रहेको पर्यटकहरूको भनाई छ ।
यस क्षेत्रमा औषधीय गुण भएका बोट बिरुवा र सुन्दर गुराँसहरू समेत पाइन्छन् । यहाँ धेरै प्रकारका गुराँसहरू पाइने स्थानीय तथा इलाम नगरपालिका ३ नम्बर वडाका पूर्व वडाध्यक्ष तीर्थराज गुरुङले बताए । केही बुट्यान र चौरले सजिएको पाटे नागीको धेरै भाग खुल्ला रूपमा फैलिएको छ ।
पाटे नागी पुग्दै गर्दा स्वागत द्वार जस्तै गरी रहेको छ । आकर्षक कुइभिर । कुइभिर देउमाई नगरपालिकामा पर्दछ । सयौँ मिटर अग्लो चट्टान रहेको यो भिर मेची राजमार्गबाट सिधै माथि देखिन्छ । सँगै रहेको देउराली र थुम्का थुम्कामा सजिएको डाँडाहरूले यसको सुन्दरता थपेको छ ।
पर्यटकका लागि नयाँ थप्न कृत्रिम पूर्वाधार नै सबै थोक नभएको जानकारहरू बताउँछन् । स्थानीयले होमस्टेको व्यवस्थापन गर्न सके मात्र पनि सो क्षेत्रमा बास बस्ने गरी जाने पर्यटकको भिड थाम्न निकै मुस्किल पर्ने देखिन्छ । तर हाल प्राय पर्यटकहरू दिन बिताउने गरी मात्र सो क्षेत्रमा पुग्ने गरेका छन् ।
स्थानीय र अर्ग्यानिक उत्पादन लिएर जाने पर्यटकको सङ्ख्या थपिने भए पनि स्थानीयले उचित कदम थालेको पाइँदैन । पाटेनागीमा जुन सुन्दरता छ त्यो अन्य ठाउँमा नभेटिने विराटनगरबाट पुगेका पर्यटक विकास निरौलाले बताए । उनले ठाउँ बाहिरबाट नसुने पनि ताप्लेजुङबाट फिर्दै गर्दा सो क्षेत्रको बारेमा सुनेपछि सो स्थानमा पुगेको बताए ।
मनाङ, मुस्ताङ धेरै खर्च गरेर जानेहरूले यो क्षेत्रको बारेमा नसुनेर पनि टाढा जाने गरेको उनको बुझाइ छ ।
यहाँ खुला चरिचरन छ । यसले पाटे नागीको सुन्दरतामा समेत आँच आउन सक्छ । यसको संरक्षणका लागि अहिले वन्यजन्तु, बोटबिरुवा र जडीबुटी संरक्षणको प्रयास भइरहेको पाटे नागी पर्यटन समिति सचिव रेसबहादुर थापाले बताए ।
बर्खामा हरियाली डाँडा हिउँदमा सुक्छन् । सुकेका घाँस नै पर्यटकका लागि प्राकृतिक गलैँचाजस्तो आकर्षक बन्ने गरेको सो क्षेत्रमा पुग्ने पर्यटकहरूको भनाई छ । सो क्षेत्रको अग्लो स्थानलाई लोहाकिल डाँडा भन्ने गरिन्छ ।
पाटे नागी डाँडाको पनि लोहाकिलबाट धेरै हिम शृङ्खला सहित विभिन्न क्षेत्रको भूभाग देख्न सकिन्छ । मनमोहक हिम शृङ्खला बाहिरका बस्तीले यहाँ पुग्ने जो कोहीको मन फुरुङ्ग पर्ने गरेको छ ।
लोहाकिल डाँडाबाट इलाम, पाँचथर, ताप्लेजुङ पूर्वी पहाडमा रहेका दर्जनौँ नियाल्न सकिन्छ । यहाँबाट धेरै सर्वोच्च शिखर सगरमाथा सहित धेरै हिमाल र हिमशृङ्खला देख्न सकिन्छ । आफू रहेको उचाइभन्दा मुनी जस्तै गरी देखिने हिम श्रृङखलाका दृश्यले धेरैको मन तान्ने गरेको छ ।
इलाम नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाटे नागीको पूर्वाधार विकास गर्दै गरेको प्रमुख केदार थापाले बताए । उनले यो क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने सडक विस्तारको काम गरिरहेको बताए ।
यस क्षेत्रमा दुर्लभ मानिएका जङ्गली जनावर चरा चुरुंगी समेत पाइने गरेका छन् । पूर्वाधार विकासका काम गर्दा संवेदनशील क्षेत्र मानिएको वन र वातावरण जोगाएर काम गरिने प्रमुख थापाले बताए ।
पाटेनागीसहित यो क्षेत्रमा पर्ने अन्य पर्यटकीय स्थलहरूको प्याकेज बनाएर प्रचार गर्न सके सो क्षेत्रमा पर्यटकको सङ्ख्या अझ बढ्ने देखिन्छ । नजिकै रहेको दिदी–बहिनी झरना, कुइभिर लगायतका क्षेत्रको एकमुस्ट विकास गर्न सके मात्र पनि यहाँ दैनिक हजारौँको सङ्ख्यामा पर्यटकहरू आउने थिए ।
सबै ।भन्दा पहिला सो क्षेत्रको विकासमा स्थानीले पर्यटक आउँदा केही रात राख्न सक्ने होटेल वा होमस्टे सञ्चालनमा ल्याउन जरुर छ । बस्ती समेट टाढा रहेकाले सो क्षेत्रमा पुग्ने पर्यटकका लागि बस्न र खान नै समस्या हुने गरेको छ । खान र बस्नका लागि आवश्यक होटलहरु नहुँदा पर्यटकहरू केही क्षण पुगेर फिर्नु पर्ने बाध्यता रहँदै आएको छ । आएका पर्यटकलाई केही दिन राख्न नसक्ने हो भने सो क्षेत्रको विकास हुन सक्दैन ।
अझ यसको प्रसार प्रचार गर्ने र आएका पर्यटकलाई बस्ने व्यवस्था मात्र गर्न सकियो भने पनि यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने थियो ।
प्रतिक्रिया