मोरङमा पहिचान नखुलेको सवारीको ठक्करबाट युवकको मृत्यु

मंगलबार, २२ फागुन २०८०
विराटनगर । मोरङमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट सोमबार राति एक जना युवकको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सडकमा घाइते अवस्थामा भेटिएका ग्रामथान गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय सुरज माझीको मृत्यु भएको हो । विराटचोक–घिनाघाट सडकखण्डअन्तर्गत ग्रामथान–६ नेताचोकमा टाउकोमा चोट लागेको गम्भीर अवस्थामा राति ९ः२० बजेतिर माझी फेला परेका थिए । तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए । उनका अनुसार घटनाको प्रकृति हेर्दा पैदल हिँडिरहेका बेला माझीलाई पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिएको हुनसक्ने देखिन्छ । ठक्कर दिने सवारीसाधनको पहिचान हुन सकिरहेको छैन । दुर्घटनामा संलग्न सवारीसाधानको खोजी तीव्र पारिएको दाहालले बताए । शवलाई कोशी अस्पतालमै राखेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार