काठमाडौं / इलाम क्षेत्र नम्बर- २ मा हुने उपनिर्वाचनले राजनीतिक दलको सक्रियता बढेको छ। जिल्लामा क्रियाशील दल उपनिर्वाचनमा आफ्नो पार्टीलाई अब्बल बनाउने गृहकार्यका साथ मतदाता नजिक पुग्न थालेका छन् भने यो उपनिर्वाचनमा इलाममा स्वतन्त्र उम्मेदवारको संख्या पनि बढ्ने देखिएको छ।
सत्तारुढ नेकपा एमालेमा जिल्ला कमिटीबाट सिफारिस भएका ६ जनाको नाम प्रदेश कमिटीबाट अनुमोदनसहित केन्द्रीय कमिटीमा पठाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि क्षेत्रीय समितिले सात जनाको नाम सिफारिस गरेर प्रदेश समितिमा पठाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार चयनको गृहकार्यमा छन् भने पहिचान पक्षधर तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणाको सिलसिला सुरु गरेका छन्।
एमालेका ६ उम्मेदवार
सत्तारुढ नेकपा एमालेले इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि ६ जना उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ।
एमाले कोशी प्रदेश कमिटीको मंगलबारको बैठकले जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेर पठाएका ६ जना उम्मेदवारको नामलाई केन्द्रमा पठाउने निर्णय गरेको हो।
प्रदेश कमिटीले सुहाङ नेम्वाङ, बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, डा. देवी क्षेत्री दुलाल र रिपल राईको नाम सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार यी ६ वटै नाम जिल्लाबाट सिफारिस भएर आएका थिए।
प्रदेशबाट सिफारिस भएर केन्द्रमा आएका नामका आधारमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाउने उनले बताए।
यता नयाँ समीकरण बनेपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि इलाम- २ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ दिए आफू उम्मेदवार बन्न तयार रहेकोलाई बताए।
खनालले नेकपा एकीकृत समाजवादीबाट मात्रै चुनावमा नजाने उल्लेख गर्दै वर्तमान गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रस्ताव आए पछि नहट्ने बताए। उनले कांग्रेसकै नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको सुनाए ।
उनले भने, ‘अहिले इलामको अवस्था सुन्दा, इलामेको भावना बुझ्दा इलामे जनताले मलाई सम्झिरहेका छन्। केही दिन अघि म इलाम गएका बेला त्यहाँ भेटिने जनता तथा कांग्रेसकै साथीहरूले पनि मेरो उपस्थितिको बारेमा भन्नुभयो। नेता भनेको प्रतिद्वन्द्वी मान्यौँ। त्यसको होइन रहेछ। नेता विकास र समृद्धिका लागि रहेछ। मैले नेपाली कांग्रेसका नेतासँग पनि भेटेँ उहाँहरूले मलाई भन्नुभयो। हामीले नै तपाईंलाई हरायौँ। तर त्यो कमजोरी भएछ। तपाईं हामीलाई चाहिने मान्छे हुनुहुँदो रहेछ भन्नुभएको छ।’
प्रतिक्रिया