बिर्तामोड - सामाजिक अभियन्ता तथा सहकारीकर्मी महेन्द्रकुमार गिरीसहित गोर्खा फाउन्डेसनले पाँच जनालाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० प्रदान गर्ने भएको छ ।
फाउन्डेसनले प्रथम पटक कार्यक्रमको आयोजना गर्दै गिरीसहित पाँच व्यक्तिलाई सम्मान प्रदान गर्न लागेको सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
सम्मानित हुनेहरूमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, पूर्वप्रमुख जिल्ला अधिकारी सीता परियार र भुवनसिंह विश्वकर्मा रहेका छन् । विश्वकर्मा अन्टाटिक महादेश पुग्ने पहिलो नेपाली रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नगद ५१ हजार पुरस्कार राशिसहित बिर्तामोडमा आयोजित समारोहका बीच विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० प्रदान गर्ने बताइएको छ । चैत्र २१ गते राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्मान प्रदान गरिने गोर्खा फाउन्डेसनका अध्यक्ष वीर दर्नालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका तत्कालीन गोर्खा दरबारमा दरवारीया तथा राजपरिवारको भोटो सिलाउने तथा दरबारमा नगरा बजाउने विश्वेश्वर नौबाग अर्थात् विशे नगर्चीको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तामा उनको सत्कर्मको पुनः स्थापित गराउने उद्देश्यले राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तत्कालीन गोरखा राज्यलाई विस्तार गरी बृहत्तर नेपाल बनाउन पृथ्वीनारायण शाहले चालेको अभियानमा नगर्चीले आर्थिक सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै राजालाई आफूसँग भएको एक रुपैयाँको ढ्याक समर्पण गरी गोरखाका १२ हजार घर धुरीबाट एक-एक रुपैयाँ रकम सङ्कलन गर्दै तत्कालीन अवस्थामा १२ हजार रुपैयाँ आर्थिक सङ्कलन गर्दै नेपाल एकीकरणको अभियानमा पु¥याएको योगदानको समेत अध्यक्ष दर्नालले स्मरण गराए ।
सम्मानित व्यक्तित्वको योगदान
महेन्द्रकुमार गिरी :
३४ जनालाई एकीकृत गर्दै शुरु गरिएको सहारा नेपाल अहिले नेपालकै ठूलो र धेरै शेयर सदस्य भएको सहकारीको रुपमा स्थापित छ । त्यसैका प्रमुख कार्यकारी हुन् महेन्द्रकुमार गिरी । सहारा नेपाललाई नेपालकै ठूलो सहकारी बनाउन गिरीको योगदान महत्वपूर्ण रहेको र झापामा उत्कृष्ट नागरिक सम्मानबाट समेत सम्मानित व्यक्तित्वका रुपमा परिचित भएका गिरीलाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्न लागिएको हो । गिरी सहकारीका अलवा समर्पण भवनको निर्माण, एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनीकरण महाअभियान, कोभिडको समयमा पीसीआर ल्यावको स्थापना, अक्सिजन शिलिण्डरको व्यवस्थापन, झापा गोल्डकपको अध्यक्ष जस्ता दर्जनौं संस्थामा अब्बल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्ति भएको अध्यक्ष दर्नालले बताए ।
भूवनसिंह विश्वकर्मा :
रुपन्देही जिल्ला बुटवल निवासी भारतीय गोर्खा रेजिमेण्ट भुवनसिंह विश्वकर्मा भारतीय सेनाको टोलीबाट सन् १९८६ र १९९२मा मानवविहीन अन्टाटिका महादेश पुगेर पहिलो नेपाली नागरिकको इतिहास रच्न सफल साहसिक व्यक्तित्वका रुपमा परिचित व्यक्ति हुन् । साहसिक काम गरेर नेपाल र नेपालीको नाम विश्वमा चिनाउन सफल व्यक्तित्वका रुपमा विश्वकर्मालाई चिनिन्छ ।
सीता परियार :
नेपाली समाजमा उत्पीडन समुदाय अन्तर्गत रहेर त्यसमा पनि महिलाको सामाजिक, राजनीतिक तथा निजामित क्षेत्रमा उपस्थिति ज्याँदै न्यून छ । महिलाहरुले भोग्नुपरेका समस्यालाई निजामति सेवामा प्रवेश गरी इलाका प्रशासन कार्यालय काठमाडौंमा प्रमुखको रुपमा रहेर सीता परियारले समाज रुपान्तरणमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उनलाई राष्ट्रिय व्यक्तित्वको रुपमा सम्मान गर्न लागिएको हो ।
राजेश हमाल :
नेपाली चलचित्रको क्षेत्रमा विगत ३५ बर्षदेखि अनवरत रुपमा लागेर नेपाली चलचित्रलाई स्थापित गराउन राजेश हमालको भूमिका महत्वपूर्ण रहेको छ । चलचित्र क्षेत्र बाहेक समतामुलक समाज निर्माणका लागि उनले पु¥याएको योगदानको उच्च सम्मान गर्दै हमाललाई राष्ट्रिय व्यक्तित्वको रुपमा सम्मान गर्न लागिएको हो ।
तुलसी घिमिरे :
नेपाली कथानक चलचित्रका निर्देशकका रुपमा स्थापित तुलसी घिमिरेले समाज रुपान्तरणका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय व्यक्तित्वको रुपमा सम्मान गर्न लागिएको हो । नेपालमा बसेर नेपाली भाषामा उत्कृष्ट चलचित्रहरु निर्माण गर्दै दर्जनौं चलचित्रको लेखन, निर्देशन गर्दै समाज रुपान्तरणमा ठूलो योगदान पु¥याएको भन्दै छिमेकी मुलुक भारत निवासी निर्देशक घिमिरेलाई सम्मान गर्न लागिएको हो ।
प्रतिक्रिया