कोशी प्रदेशका कृषकले बढेको दूधको मूल्य भोलिदेखि पाउने

आइतबार, २१ फागुन २०७९
पवन अधिकारी सुनसरी । मन्त्रिपरिषदले दूधको मूल्य बढाएकाले कोशी प्रदेशमा भोलि सोमबारबाट बजारमा दूधको मूल्य बढाएर पठाइने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउने प्रस्ताव गरेपछि त्यसैका आधारमा मन्त्रिपरिषद्ले मूल्य वृद्धिको निर्णय लिएको थियो । दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सरकारको भनाइ छ । सुनसरी, मोरङ र झापामा रहेका डेरी सञ्चालकहरुको शनिबार बसेको बैठकले बढेको मूल्यमा सोमबारदेखि बजारमा दूध पठाउने निर्णय गरेको तरहरास्थित कामधेनु दुग्ध बिकास सहकारी संस्थाका कार्यकारी प्रमुख परशुराम कार्कीले बताए । बैठकमा रितिका डेरी झापा, एनएमसी झापा, जीवन विकास डेरी विराटनगर, गोरस डेरी उद्योग सुन्दरहरैँचा, शिवम् डेरी उद्योग विराटनगर, सूर्योदय डेरी विराटनगर, मदानी मिल्क हाउस विराटचोक, पूर्व नेपाल डेरी दमक र कामधेनु दुग्ध विकास सहकारी संस्था सञ्चालकहरुको सहभागिता थियो । सरकारले तोकेको मूल्य कृषकलाई सोझै पुग्ने गरी मूल्य निर्धारण गरिएको छ । जसअनुसार साबिक पाउँदै आएको मूल्यमा सरकारले बढाएको ९ रुपैया पचास पैसा समेत गरि अब प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा कृषकहरुले पाउनेछन् । कृषकहरुबाट खरिद गर्ने दूधको मूल्यमा बृद्धि गरेपछि डेरी सञ्चालकहरुले बजारमा पठाउने दूध तथा दूधजन्य पदार्थको मूल्य समेत बढाउने निर्णय गरेका छन् । अब प्रतिलिटर प्याकेट दूधमा १४ रुपैयाँ बढ्ने भएको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँमा पाइने दूध अब प्रतिलिटर सय रुपैयाँ पर्नेछ । यस्तै, दहीको मूल्यमा पनि प्रति प्याकेट ८ रुपैया बृद्धि गरि ७० पुर्याइएको बैठकमा सहभागी कामधेनुका कार्यकारी प्रमुख कार्कीले बताए । कोशी प्रदेशमा जनस्तरबाट सञ्चालित डेरीहरुले प्रतिदिन झण्डै ८० हजार लिटर दूध संकलन गर्ने गरेका छन् । अरु साना डेरीहरुले दैनिक ३५ देखि ४० हजार लिटर दूध संकलन गरी खुला रुपमा बजारमा बिक्री गर्दै आएका छन् । कोशी प्रदेश दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर भइरहेको अवस्थामा बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धाका कारण खुला रुपमा बिक्री हुँदै आएका त्यस्ता चिजको कारोबार निरुत्साहित हुन सकेको छैन । अन्य प्रदेशमा रहेका डेरीहरुले समेत जथाभावी मूल्य निर्धारण गरेर लैजाने गरेकाले समस्या उत्पन्न भएको रितिका डेरी उद्योगका सञ्चालक योगेन्द्र चिमरियाले बताए । २७ वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दै आएका मोरङ ग्रामथानका कृषक यादव ढकालले सरकारले दूधको मूल्य बढाए पनि उत्पादन लागत घटाउन नसक्दा अझै कृषकहरुले पूर्ण रुपमा राहत पाउन नसकेको बताए । कोशी प्रदेशमा सहकारी क्षेत्रबाट सञ्चालित सबैभन्दा कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष समेत रहेका ढकालले उत्पादन लागत घटाउनका लागि बैंकको ब्याजमा अनुदान दिनुपर्ने, साइलेज र दानामा अनुदान दिनपर्ने उल्लेख गरे । सरकारले अहिले मूल्य बढाउदा पनि उत्पादन लागत बढी भएका कारण कृषकलाई प्रतिलिटर दूधमा ३ रुपैयाँ मात्र फाइदा पुगेको उनको भनाइ छ । जीवन विकास डेरी प्रोडक्टस प्रालि विराटनगरका सञ्चालक विजयकुमार मण्डलले सरकारले समय सापेक्ष रुपमा दूधको मूल्य स्वाभाविक रुपमा बढाएको बताए । उनले कोशी प्रदेशमा अहिले पनि दूधको अपुग रहेको बताए । डेरीहरुलाई प्रतिलिटर दूध उपभोक्तासम्म पुर्याउँदा १५ लिटर लाग्ने गरेको छ । डेरीहरुले प्याकेजिङ गर्दा नै दूधको मूल्यमा उच्च हुने गरेका कारण बजारमा जाने मूल्यमा बृद्धि गर्नुपरेको बताए । उनले खुला रुपमा बिक्री हुँदै आएको दूधका कारण व्यावसायिक रुपमा सञ्चालन भएका डेरीहरुलाई समस्या परेको बताए । उनले नियमनकारी निकायहरुले खुला रुपमा बेचबिखन रोक्न निगरानी गर्नुपर्नेमा जोड दिए । तस्बिरः इलामको नामसालिङमा संकलन केन्द्रतिर दूध लैजाँदै स्थानीय किसान ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार