काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका विभिन्न भू–भागमा भारीदेखि अती भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको भन्दै कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया