इटहरी : कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो ।
ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले कोशी प्रदेशभर दसैँको अवधिमा २६९ ठाउँमा भएको सवारी दुर्घटना परी १४ जनाको मृत्यु भएको जानकारी दिए ।
असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुने पुरुष छन् । १३ जना पुरुष र एक जना महिलाको दुर्घटनामा मृत्यु भएको घिमिरेले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या सबैभन्दा बढी मोरङमा रहेको छ । मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यसैगरी १६ जना घाइते भएका छन् ।
यता, सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यसैगरी झापामा ७२ वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । यस्तै, धनकुटा र खोटाङमा १–१ जनाको मृत्यु भएको छ ।
१२ दिनमा ७ हजार ५९१ वटा सवारी साधन कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको एसपी घिमिरेले बताए ।
गत वर्ष कोशी प्रदेशमा दसैंको ६ दिनमा एक सय ३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए । उनकाअनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीमा पाँच सय जना ट्राफिक प्रहरी कार्यालयहरू परिचालन छन् ।
प्रतिक्रिया