इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कानुन मिचेर वडाध्यक्षलाई कार्यवाहक मेयर तोकेको विषयमा उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ ।
साम्पाङले आफू बेलायत भ्रमणमा जाने भएपछि वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । तर, उच्च अदालत विराटनगरले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।
उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
न्यायधीश ध्रुवराज नन्दको इजलासले मेयर साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो ।
मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदारहँदै वडाध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए । अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२)ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१।६।२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।
प्रतिक्रिया