कोशीका तीन जिल्लामा सवारी साधनका लागि टाइम कार्ड लागू

शनिबार, १५ मंसिर २०८१
इटहरी : सुनसरी, मोरङ र झापामा सवारी साधनका लागि टाइम कार्ड लागू भएको छ । कोशी प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढेपछि शनिबारदेखि टाइम कार्ड लागू गरिएको हो । मोरङको सुन्दरहरैँचा–७ स्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गरेका हुन् । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको हो । टाइम कार्ड तोकिएपछि विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ । यसैगरी इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ । काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ भने झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । खासगरी पछिल्लो दुई सातामा मात्रै कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार